विराटनगर महानगरपालिका–५ बिजुली अफिस अगाडि भृकुटी चोकमा मृत भेटिएका पुरुषलाई ठक्कर दिएको आरोपमा ट्रक चालक पक्राउ परेका छन् ।
गत साउन ४ गते सोमबार साँझ को ४ प २३१६ नम्बरको रोकिराखेको मोटरसाइकलमा विराटनगर–५ मुनालपथका ४८ वर्षीय सुदर्शन न्यौपाने मृत भेटिएका थिए। मोटरसाइकलमा चढेकै अवस्थामा उनको शव भेटिएको थियो ।
न्यौपानेलाई ठक्कर दिएको आरोपमा को १ क १३३३ नम्बरको ट्रक र चालक सुनसरी धरान उपमहानगरपालिका–२० देवीगाउँका २८ वर्षीय रामशरण राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
शरीरको बाहिरी भागमा कुनै चोटपटक समेत नदेखिएपछि घटना रहस्यमय बनेको थियो । न्यौपानेको शवको प्रकृति शंकास्पद देखिएपछि मोरङ प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको थियो ।
अनुसन्धानको क्रममा बिजुली अफिस अगाडि को१क १३३३ नम्बरको ट्रकले न्यौपानेले चलाएको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको खुलेको हो ।
त्यसलगत्तै प्रहरीले दुर्घटनामा संलग्न ट्रक र चालकको खोजी अघि बढाएको थियो । सोही क्रममा विराटनगर–१५ स्थित राधाकृष्ण मन्दिर छेउमा रहेको एक कोइला डिपोबाट सो ट्रकसहित चालकलाई प्रहरीले आज पक्राउ गरेको हो ।
पक्राउ परेका ट्रक चालकले दुर्घटनापछि घाइते अवस्थामा रहेका वृद्धले ठीक छु भनेपछि आफ्नो गन्तब्यमा गएको बयान दिएको मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले बताएका छन् । उनीहरु गएको केही समयपछि मोटरसाइकलमा बसिरहेकै अवस्थामा न्यौपानेको मृत्यु भएको बताइएको छ ।