किन आए भारतीय विदेश सचिव काठमाडौँ ?

भारतीय विदेश सचिव विक्रम मिश्री काठमाडौँ आइपुगेका छन् । उनी दुईदिने नेपाल भ्रमणका लागि आइतबार बिहान काठमाडौँ आइपुगेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई परराष्ट्र सचिव सेवा लम्सालले स्वागत गरिन् । सचिव लम्सालकै निमन्त्रणामा मिश्री नेपाल आएका हुन् । खासै नौला एजेन्ड केही नभए पनि केपी ओली नेतृत्वको सरकार बनेपछि कूटनीतिक सम्बन्ध विस्तारका लागि मिश्री काठमाडौँ आएको बताइन्छ ।

कांग्रेस–एमाले गठबन्धनको सरकार बनेयता पहिलो भारतीय उच्चस्तरीय भ्रमणका रुपमा मिश्रीको भ्रमण तय भएको देखिन्छ । यस भ्रमणका क्रममा दुवै देशबीच आपसी सम्बन्ध विस्तार र द्विपक्षीय सहमतिका विविध विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

स्रोतका अनुसार विदेश सचिव मिश्री आफूलाई नेपाली राजनीतिज्ञसमक्ष चिनाउन र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको नयाँ सरकारको ‘मुड’ बुझ्न नेपाल आएका हुन् ।

भारतीय विदेशमन्त्री मिश्रीले आइतबार दिउँसो २ः४५ बजे राष्ट्रपति रामचन्द्र पौडेल र ३ः४० बजे प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।

नेपाल भ्रमणमा रहँदा भारतीय विदेश सचिव मिश्रीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार