संक्रमणकालीन न्याय सम्बन्धी विधेयक आगामी मंगलबार प्रतिनिधि सभामा पेस हुने भएको छ ।
प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समितिले आगामी बैठकमा पेस गर्ने व्यवस्थाका लागि सभामुख देवराज घिमिरेलाई आग्रह गरेको छ । कानुन समितिका सभापति बिमला सुवेदीले शुक्रबार सभामुख घिमिरेलाई भेटेरै यस्तो आग्रह गरेकी हुन् ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा कानुन समितिका सदस्यहरू र संसद् सचिवालयका अधिकारीसमेत उपस्थित थिए ।
विधेयकमा सन्दर्भमा देखिएका विवादहरूलाई राजनीतिक दलले कार्यदल बनाएर सहमति जुटाएपछि हिजोको समितिबाट पारित भएको थियो । विवादित विषयहरूमा सहमति भएसँगै १८ वर्षपछि विधेयक अघि बढेको हो ।
कांग्रेस, एमाले र माओवादी केन्द्रले विधेयकमा मिल्न बाँकी बिषय कार्यदल बनाएर टुंग्याएपछि यही अधिवेशनबाट टिआरसी विधेयक पारित गराउने सरकारको तयारी छ ।