जनमत पार्टीले मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई स्पष्टीकरण सोधेको छ ।
जनमतका सांसदसमेत रहेका सिंहलाई स्पष्टीकरण सोध्ने निर्णय भएको प्रवक्ता शरदसिंह यादवले जानकारी लिए । मुख्यमन्त्री सिंहमाथि मन्त्रालय बाँडफाँट र राज्यमन्त्रीहरु थप गर्दा पार्टीसँग समन्वय नगरेको आरोप छ । ‘पार्टीसँग समन्वय नै नगरी मन्त्रालय बाँडफाँड गर्नुभयो, राज्यमन्त्रीसमेत थप गर्नुभयो,’ उनले भने, ‘उहाँले पार्टीसँग समन्वय नै गर्नुभएन ।’
सरकारको कामभन्दा अनावश्यक उद्घाटनहरुमा समय खर्चिएको र पार्टीले दिएको निर्देशन बेवास्ता गरेको आरोप समेत मुख्यमन्त्री सिंहमाथि छ । ‘मन्त्रालयको काममा ध्यान दिनुभन्दा पनि अनावश्यक उद्घाटन समारोहमा समय खर्चदै आएको पाइयो। पार्टीले दिएका निर्देशन पनि उहाँले बेवास्ता गर्नुभयो,’ यादवले भने ।
साथै बजेटमा सांसदहरूका लागि पाँच करोड रुपैयाँ दिने विवादास्पद निर्णय गरेकोमा पनि पार्टीले मुख्यमन्त्रीसँग स्पष्टीकरण मागेको प्रवक्ता यादवले बताए ।
मुख्यमन्त्री सिंहले गत मंगलबार नेपाली कांग्रेसका दुई, नेकपा (एमाले), जनमत र लोसपाबाट एक(एक जना गरी पाँच राज्यमन्त्री थप गरेका थिए ।
१२ मन्त्रालय रहेको मधेसमा यसअघि मुख्यमन्त्रीसहित १२ मन्त्री र तीन राज्यमन्त्री थिए । यहाँ कांग्रेसले चार, एमालेले चार, जनमतले मुख्यमन्त्रीसहित ३, लोसपाले एक मन्त्रालय लिएका थिए । यिनै दलहरूबाट राज्यमन्त्रीहरू पनि नियुक्त गरिएको थियो ।