नेपालमा दुई साताको अवधिमा दुई वटा हवाई दुर्घटना भएपछि सांसदहरूले नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशकलाई हटाउन माग गरेका छन् । बिहीबारको प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा सांसदहरूले क्यानका महानिर्देशक प्रदीप अधिकारीमाथि प्रश्न तेर्साउँदै हटाउन सरकारसँग माग गरेका हुन् ।
बिहीबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्ने संसदहरुले बुधबार भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाको छानबिन गर्न प्राधिकरणका जिम्मेवार पदाधिकारीलाई निलम्बन गर्नुपर्ने माग सांसदले गरेका छन् । यो दुर्घटनामा क्यान नेतृत्वले नैतिकता देखाउने काम नभएको उनीहरुले बताए ।
समितिमा बोल्दै अधिकांश सांसदहरूले पटकपटक विमान दुर्घटना हुन थालेको भन्दै यसमा क्यानको नियामकीय भूमिकामाथि प्रश्न उठाएका थिए ।
सांसद प्रभु साहले देशको हवाइ क्षेत्र कमजोर भएको र हवाई क्षेत्र मान्छे मर्ने निकाय भएको भन्दै भन्दै क्यान नेतृत्वलाई प्रश्न गरे । उनले क्यानका कर्मचारी जवाफदेही नदेखिएकोले पनि उनले राजीनामा दिनु पर्ने बताए । ‘मालपानी लिएर नियुक्ति गराउने अनि जिम्मेवार नलिने ?’ अहिले पदमा बसेको बेला भएकोले लिडर तपाईंहरु हो । उहाँहरुलाइ कारबाही गर्नुस्’ साहले भने ।
अर्का संसद शिशिर खनालले पनि नियामक कै कमजोरीले हवाई दुर्घटना बढेको बताए । उनले पर्यटन मन्त्री बद्री पाण्डेको ध्यानकर्षण गर्दै क्यान नेतृत्वमाथि कारबाही गर्ने प्रस्ताब ल्याउनुपर्ने बताए ।
अर्का संसद धबल सम्शेर राणाले माहतका कर्मचारीलाई निलम्बन गरेर कारबाही गर्नुपर्ने बताए । उनले क्यानले हेलिकप्टरलाई मेन्टिनेन्स पनि गर्ने ठाउँ पनि उपलब्ध गराउन नसक्ने नेतृत्वबाट हवाई सुरक्षा नहुने बताए । उनले भने, ’सम्बन्धित निकाएका कर्मचारीलाई निलम्बन गरेर छानबिन गर्नुपर्छ यसमा मन्त्रीले निर्णय गर्नुपछ ।’
सांसदहरूले विमान सुरक्षा जाँच गर्न र दुर्घटनाको छानबिन गर्न फरक निकाय हुनुपर्ने र अधिकारीलाई निलम्बन वा बर्खास्त गरेर मात्रै छानबिन समिति बनाउनुपर्ने बताएपछि सरकारले त्यसमा कानुनी बाटो हेरिरहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले बताए ।
“कानुनी र प्रक्रियासम्मत बाटोबाट जानको लागि त्यसका अप्ठ्यारा के हुन्, जटिलता के हुन्, हामी खोजी रहेका छौँ,” समितिमा बोल्दै पाण्डेले भने,“ मेरो पहलकदमीमा कुनै निर्णय होस् र त्यो निर्णय कुनै बाटोबाट पुर्नस्थापित होस् । अनि मन्त्री चाहिँ त्यही बसिराख्ने ? निर्णयमाथि कुनै चुनौती आओस् । त्यो निर्णय बदर भएपछि हिजोका दिनमा के भयो मलाईं थाहा छैन तर त्यही बस्ने नैतिकता हुँदैन ।”
क्यानले नै विमान सुरक्षा जाँच गर्ने र उसले नै दुर्घटनाको छानबिन गर्ने हुँदा स्वार्थको द्वन्द्व (कन्फ्लिक्ट अफ इन्ट्रेस्ट) रहने धारणा सांसदहरूले राखेका छन् । त्यसैले यो दुवै कामका लागि छुट्टाछुट्टै निकाय हुनुपर्नेमा उनीहरूले जोड दिएका हुन् ।