डेटिकेटेड तथा ट्रंकलाइन विवाद: प्राधिकरणले लेखा समितिमा बुझायो ५० हजार पानाको विवरण

नेपाल विद्युत् प्राधिकरणले डेटिकेटेड तथा ट्रंक लाइन प्रयोग गरेका उद्योगहरूको टीओडी मिटरको डेटा समेटिएको करिब ५० हजार पेजको विवरण लेखा सिमितिमा बुझाएको छ ।

लेखा सिमितिले उद्योगले बिजुली प्रयोग प्रमाण मागेपछि प्राधिकरणले टीओडी (टाइम अफ डे) डाटासहितको विवरण उपलब्ध गराएको हो ।

डेडिकेटेड र ट्रंकलाइनको महसुलबारे विवाद उत्कर्षमा पुगेपछि लेखा समितिले प्राधिकरणसँग टीओडी मिटरको तथ्यांक मागेको थियो । लेखा समितिले प्राधिकरणलाई टीओडी मिटरको विवरण पेस गर्न पाँच दिनको समय दिएको थियो ।

प्राधिकरणले सेतो कपडामा बेरेको टीओडी मिटरको लगसिट २४ पोकासहित ३० पोका र २ इन्डेक्स फाइल लेखा समितिमा पेस गरेको हो । लेखा समितिमा पेस गर्ने पोकाहरु प्राधिकरणले गाडी हालेर सिंहदरबारस्थित लेखा समितिको कार्यालय ल्याएको थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लेखा समितिलाई पठाएको पत्रमा भनिएको छ, ‘महसुल बक्यौता रहेका उपरोक्त ५३ वटा ट्रंकलाइन उपभोक्तामध्ये बुटवल सिमेन्ट, सर्वोत्तम सिमेन्ट, लक्ष्मी स्टील र सम्राट सिमेन्टले केही महिना डेडिकेटेड दरले विद्युत् महसुल भुक्तानी गरे पश्चात् अन्य ट्रेड डेडिकेटेड लाइनबाट विद्युत् उपभोग गर्ने उपभोक्ताले विद्युत् महसुल नबुझाएको कारण यी उद्योगहरूले पनि साधारण दरले मात्र विद्युत् महसुल भुक्तानी गरेको अवस्था रहेको छ ।’

प्राधिकरणले मन्त्रिपरिषद्ले निर्देशन दिएको भन्दै ६ अर्ब ६० करोड रुपैयाँ उठाउन उद्योगीहरुलाई पत्र काटेपछि विवाद बढेको हो । उद्योगीहरुले टीओडी मिटरको रेकर्ड नदिएसम्म बक्यौता नतिर्ने बताएका छन् । उद्योगीहरुले प्राधिकरणले पठाएको अतिरिक्त शुल्कसहतिको उक्त विल फर्जी भएको दाबी गर्दै आएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार