विद्युत प्राधिकरणका सहायक लेखापालविरुद्ध नक्कली प्रमाणपत्रको मुद्दा

नेपाल विद्युत प्राधिकरण, बुटवल वितरण केन्द्रमा सहायक लेखापाल पदमा कार्यरत सुधिर कुमार चतुर्वेदीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार २०६६ कात्तिक ९ गतेदेखि लागू हुने गरी क्लर्क (लेखा), तह–३ मा स्थायी नियुक्ति लिइ सहायक लेखापाल, तह–४ मा बढुवा भएका थिए ।

निजले बिहार संस्कृत शिक्षा बोर्डबाट मध्यमा (हाइस्कुल) तहको द्वितीय श्रेणीमा उत्तीर्ण गरेको लब्धाङ्क पत्र, अस्थायी प्रमाणपत्र, श्री जगनाथ शाह संस्कृत प्रा. सह माध्यमिक विद्यालय, कौडिहार चौक महाविर नगर, रक्सौल पूर्वी चम्पारण (बिहार) बाट जारी आचरण प्रमाण–पत्र र विद्यालय परित्याग समेतको झुट्टा तथा नक्कली शैक्षिक योग्यताका प्रमाणपत्रहरु पेश गरेको आयोगको विज्ञप्त्मिा उल्लेख छ ।

आयोगका अनुसार सो प्रमाणपत्रहरु पेश गरी सो ओहोदा, लाभ र सुविधा प्राप्त गरेको पुष्टि भएको हुँदा निज चतुर्वेदीविरुद्ध भ्रष्टाचारनिवारण ऐन, २०५९ बमोजिम कैद र जरिवाना हुन मागदाबी लिइ विशेष अदालत काठमाडौंमा बिहीबार आरोपपत्र दायर भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार