धरानमा खानेपानीको महसुल तथा विभिन्न दररेट वृद्धिविरुद्धको आन्दोलन चर्किएको छ ।
महसुल वृद्धिविरुद्ध धर्ना बसेकाहरुले आज उपमहानगर कार्यालय घेराउ गरेका छन् । प्रदर्शनकारी र प्रहरीबिच केहीबेर धकेलाधकेलसमेत भएको थियो । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार उपमहानगर भित्र प्रवेश गर्न खोज्ने प्रदर्शनकारीलाई प्रहरीले रोकेको छ ।
मनोमानी शुल्क बढाएको विरोधमा उनीहरूले खानेपानी बोर्डको कार्यालय र काउन्टरमा लगाएको ताला खोल्न उच्च अदालतले आदेश दिएपछि उपमहानगरपालिका घेराउको कार्यक्रम राखेका थिए । प्रदर्शनमा करिब २०० जना सहभागी छन् । प्रदर्शनकारीले धरान उपमहानगरपालिका कार्यालयबाहिर नाराबाजी गरिरहेका छन् ।
धरानमा क्रियाशील १० राजनीतिक दलले शुल्क वृद्धिको विरोधमा सोमबार खानेपानी बोर्डको महसुल संकलन काउन्टरमा तालाबन्दी गरेका थिए । तर उच्च अदालत विराटनगरले तालाबन्दी नगर्न आदेश दिएपछि दलहरूले बुधबार ताला खोलेका थिए । राजनीतिक दलहरूले अदालतको आदेशको सम्मान गर्दै ताला खोल्ने निर्णय गरिएको जनाएका छन् । तर, मूल्यवृद्धिको निर्णय फिर्ता हुनुपर्ने उनीहरूको अडान छ ।
खानेपानी व्यवस्थापन बोर्ड धरान उपमहानगरको मातहतमा छ । बोर्डको अध्यक्ष मेयर रहने प्रावधान राखिएको छ । एडीबीको ऋण तिर्न पैसा नभएको र बोर्ड सञ्चालनमा समस्या भएको भन्दै मेयर हर्क साम्पाङले विभिन्न शुल्क ह्वात्तै बढाएका छन् ।