सरकारको नेतृत्व गर्न स्वदेश फर्किएर युनुसले गरे केही महिनाभित्र चुनाव गराउने प्रतिवद्धता

नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुस कार्यवाहक सरकारको नेतृत्व गर्न बिहीबार स्वदेश फर्किएका छन् । आरक्षण विरोधी आन्दोलनबाट सुरु भएको बङ्गलादेशको राजनैतिक असन्तुष्टिले प्रधानमन्त्री शेख हसिनालाई राजिनामा गरी देश छोड्न बाध्य बनाएपछि विद्यार्थी नेताहरूको प्रस्तावमा सरकारको नेतृत्व गर्ने समहतिका साथ उनी स्वदेश फर्किएका हुन् ।

उनले बङ्गलादेशमा शेख हसिनाको सरकार अपदस्थ गर्ने क्रममा भएको लामो प्रदर्शनमा मारिएका व्यक्तिप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै उनीहरुको बलिदानले देशलाई ‘दोस्रो स्वतन्त्रता’दिलाएको बताएका छन् । काम चलाउ सरकारको नेतृत्व गर्न स्वदेश फर्केलगत्तै ढाकास्थित विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले भने “आजको दिन हाम्रा लागि गौरवपूर्ण दिन हो” उनले अगाडि भने, “बङ्गलादेशले नयाँ विजय दिवस सिर्जना गरेको छ । देशले दोस्रो पटक स्वतन्त्रता पाएको छ ।”

हप्तौदेखि चलेको हिंसामा कम्तीमा ४५५ जनाको ज्यान जाने गरी भएको हिंसापछि सुव्यवस्था बहालीका लागि आह्वान गर्दै उनले आक्रमणमा परेका अल्पसङ्ख्यकसहित एक अर्काको रक्षा गर्न नागरिकहरुलाई आह्वान गरेका छन् । “कानुन र व्यवस्था हाम्रो पहिलो काम हो । जबसम्म हामी कानुन र व्यवस्थाको स्थिति ठीक गर्दैनौँ, तबसम्म एक कदम पनि अगाडि बढ्न सक्दैनौँ”, उनले भने, “मेरो सबै जनासँग आह्वान छ यदि तपाइँहरुलाई ममाथि भरोसा छ भने यो सुनिश्चित गर्नुस् कि देशको कुनै पनि कुनामा कसैमाथि आक्रमण नहोस् ।”

८४ वर्षीय युनुसले बिहीबार साँझसम्म देशको नयाँ नेताका रुपमा सपथ लिने सम्भावना छ । सरकारको गैर(जिम्मेवारीपनको बिचमा उर्लेको विद्यार्थी आन्दोलन र विद्यार्थीहरुको मागमा सेनाले सहमति जनाएसँगै हसिनाले पदबाट राजिनामा दिन बाध्य हुनुपरेको थियो । यसअघि युनुसले ढाकाका लागि प्रस्थान गर्दा पेरिसमा पत्रकारसमक्ष आफु घर फर्कन पर्खिरहेको र त्यहाँ के भइरहेको छ, कसरी समस्याबाट बाहिर निस्कन सक्छौँ भनेर सोच्न समर्थक सबैलाई आह्वान गरेका थिए ।

युनुसलाई यस पहिलेको सरकारले १०० भन्दा बढी आपराधिक मुद्दाहरूको आरोप लगाएपछि उनी निर्वासनमा बस्दै आएका थिए । सेना प्रमुख जनरल वाकर(उज(जमानले युनसको समर्थनमा रहेको जनाउँदै बिहीबार साँझ अन्तरिम सरकारको नेतृत्वको शपथ लिने आशा व्यक्त गरे । यसरी आगामी दिनमा लोकतान्त्रिक प्रक्रियाको माध्यमबाट मुलुकलाई अगाडि बढाउन सक्षम हुने विश्वास जमानले व्यक्त गरे ।

ढाका विमानस्थलमा पत्रकारहरुसँग युनसले ‘केही महिनाभित्र’ चुनाव गराउन चाहेको बताउँदै मुलुकले दोस्रो पटक स्वतन्त्रता प्राप्त गरेको उल्लेख गरेका छन् । उनले छिट्टै आफ्नो संलग्नतामा विजय उत्सव मनाउने बताएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार