अदालतको आदेशमा थाइल्याण्डको चर्चित पार्टी भंग, नेताहरूमाथि १० वर्ष प्रतिबन्ध

थाइल्याण्डको संवैधानिक अदालतले प्रगतिशील ‘मुभ फरवार्ड पार्टी’लाई भंग गर्न आदेश दिएको छ ।

थाइल्याण्डको सबैभन्दा ठूलो दल मुभ फरवार्ड पार्टीले संविधान संशोधन प्रस्ताव गरेर संवैधानिक व्यवस्था उल्लंघन गरेको भन्दै अदालतले पार्टीलाई भंग गर्ने आदेश दिएको हो ।

बुधबार बैंककस्थित संवैधानिक अदालतले एक मतले गरेको फैसलामा पार्टीको कार्यकारी बोर्डलाई समेत प्रतिबन्ध लगाइएको छ । पार्टीका पूर्वनेता पिता लिम्जारोएन्राट र अहिलेका प्रमुख चाइथावात टुलाथन समेत प्रतिबन्धमा परेका छन् । उनीहरूलाई १० वर्षसम्म प्रतिबन्ध लगाइएको हो ।

उक्त पार्टीले सन् २०२३ को आमचुनावमा सबैभन्दा धेरै सिट जितेको थियो । पार्टीलाई सहरी युवा जमातले मन पराएको थियो । शाही मानहानिसम्बन्धी कानुनको कडा प्रावधानमा सुधार गरिनुपर्ने एजेन्डा समेत पार्टीको थियो । सो पार्टीलाई जिताउने श्रेय लिम्जारोएन्राट र टुलाथनलाई दिने गरिन्छ ।

पार्टीका पूर्वनेता पितालाई प्रधानमन्त्री हुनबाट तत्कालीन सेनाद्वारा नियुक्त सिनेटले रोक लगाएको थियो । यो वर्षको सुरुमा पनि निर्वाचन आयोगले देशको सर्वोच्च अदालतलाई उक्त पार्टी विघटनको आग्रह गरेपछि पिताको राजनीतिक करियरमा नै धक्का लागेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार