हेलिकप्टर दुर्घटनाका मृतकको शव काठमाडौं ल्याइयो, भोलि बिहानदेखि पोस्टमार्टम

बुधबार नुवाकोटमा भएको हेलिकप्टर दुर्घटनाका मृतकको शव काठमाडौं ल्याइएको छ ।

मृतकको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल ल्याइएको हो । बुधबार दिउँसो शिवपुरी गाउँपालिका वडा नम्बर ७ स्थित सूर्यचौरमा एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परेको थियो । दुर्घटनामा नेपाली पाइलटसहित पाँच जना चिनियाँ नागरिकको मृत्यु भएको थियो ।

उक्त हेलिकप्टर काठमाडौंबाट १:५४ बजे रसुवाको स्याप्रुबेसीका लागि उडेको थियो । काठमाडौंबाट उडेको तीन मिनेटमै एयरटावरसँग सम्पर्कबिच्छेद भएको थियो । त्यसको केही समयपछि हेलिकप्‍टर दुर्घटनामा परेको हो । क्याप्टेन अरूण मल्ल, चिनियाँ नागरिकहरू टाङ जुटाओ, वु यियाओ, ली जेई र सेइ जिमिङको मृत्यु भएको नुवाकोट प्रहरीले जनाएको छ ।

उनीहरूको शव संकलन गरी शव बहानमा राखेर काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा ल्याइएको हो ।

मृतकको पोस्टमार्टम भोलि बिहानदेखि सुरू हुने भएको छ । त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरीका अनुसार सामान्यता पोस्टमार्टम कार्यालय समयमा गरिन्छ ।

उनका अनुसार प्रहरीबाट शवको मुचुल्का प्राप्त भएपछि पोस्टमार्टमको काम सुरु गरिने छ । डा. चौधरीका अनुसार अन्य घटनामा मृत्युको कारण पत्ता लगाउन मात्रै पोस्टमार्टम गरिन्छ । तर, यस्तो विपदमा शव पहिचानको लागि मात्रै पोस्टमार्टम गरिन्छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार