नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टीबाट अलग्गिएका नेताहरूलाई एक ठाउँमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बुधवार माओवादी केन्द्र हुम्लाको कार्यक्रमलाई पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले पार्टीका कार्यकर्ताहरूलाई पार्टी फुट्छ की भन्ने चिन्ता नलिन आग्रह गरे । अब फुटेर गएका नेताहरू पनि एक ठाउँमा आउने गृहकार्य भइरहेको जिकिर गरे ।
अध्यक्ष प्रचण्डले माओवादीबाट विगतमा छुट्टिएकाहरू एकता गर्नुको विकल्प नरहेको भन्दै पार्टी एकताका लागि आइरहेको दाबी गरे । उनले फुटेका नेताहरु एकजुट गरी पुनः एकपटक पार्टीको नेतृत्व गर्ने आँट आफूले गरेको बताए । उनले माओवादी केन्द्रलाई कुनै हालतमा फुट्न नदिने भन्दै फुटहरुलाई कार्यक्रममार्फत अन्त्य गर्ने बताए ।
प्रचण्डले सशक्त कार्यक्रममार्फत गुटबन्दीको अन्त्य गर्ने पनि जिकीर गरे । ‘तपाईंहरूलाई चिन्ता छ, पार्टी के हुन्छ, गुटहरू छन्, गुटैगुट, पार्टी फेरि फुट्ने पो हो की ? म के भन्न चाहन्छु भने पार्टी अब फुटतिर होइन, हिजो फुटेकाहरू पनि सबै जुट्नेतिर आएका छन्’ उनले भने, ‘हाम्रोभित्र तपाईंहरुले सुन्नुभएको छ, यस्तो भयो, त्यस्तो भयो, आदि इत्यादि । यो पार्टीलाई कुनै हालतमा फुट्न दिइँदैन । फुटेकालाई जुटाइन्छ । फुटहरु जो छन्, तिनलाई यो पटक कार्यक्रममार्फत अन्त्य गरिन्छ। सशक्त कार्यक्रममार्फत गुटबन्दीको अन्त्य गर्ने सुरुवात गरिन्छ ।’
अध्यक्ष प्रचण्डले नयाँ कार्ययोजना र कार्यक्रमसहित देशव्यापी अभियानमा जाने संकल्प आजको आवश्यकता भएको बताए । उनले आफूले एक ढंगको विद्रोहको झण्डा उठाइसकेको दाबी गरे। उनले समाजवादको निम्ति प्रतिक्रान्तिका बिरुद्ध क्रान्तिको झण्डा उठाएको बताए ।