गण्डकीमा ९६ प्रतिशत रोपाइँ

गण्डकी प्रदेशको अधिकांश क्षेत्रमा रोपाइँ सकिएको छ । प्रदेश कृषि विकास निर्देशनालयका अनुसार हालसम्ममा ९६ प्रतिशतभन्दा बढी रोपाइँ भइसकेको छ । 

सबैभन्दा बढी पर्वतमा ९९ प्रतिशत र सबैभन्दा कम गोरखामा ८७ दशमलव २८ प्रतिशत रोपाइँ भएको निर्देशनालयका कृषि अधिकृत रञ्जना पोखरेलले जानकारी दिइन् ।  

कास्कीमा ९८ दशमलव ५०, म्याग्दीमा ९८ दशमलव ३०, लमजुङमा ९८, स्याङ्जामा ९८, बागलुङमा ९७, तनहुँमा ९६ दशमलव २२ र नवलपुरमा ९४ प्रतिशत रोपाइँ भएको हो ।

यस वर्ष गण्डकी प्रदेशमा ९६ हजार ५३ हेक्टर क्षेत्रफलमा वर्षे धानखेती हुने अनुमान निर्देशनालयको छ । गत वर्ष ९७ हजार ७६९ हेक्टरमा धानखेती गरिएको थियो । 

प्रदेशको कुल चार लाख ७९ हजार ६१७ हेक्टर खेतीयोग्य जमिनमध्ये बर्सेनि एक लाख हेक्टर वरिपरि वर्षे धानखेती हुँदै आएको छ । 

यही साताभित्रमा प्रदेशभर रोपाइँ सकिने अनुमान गरिएको कृषि अधिकृत पोखरेलले बताइन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार