सरकारले तीन जना अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गरेको छ। मंगलबार साँझ सिंह दरबारमा बसेको मन्त्रिपरिषद बैठकले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र काठमाडौं उपत्यका प्रहरी प्रमुख पनि हेरफेर गरेको हो।
सरकारले एआइजी श्यामलाल ज्ञवालीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) बाट प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभागमा सरूवा गरेको छ।
उनका अनुसार ज्ञवालीको ठाउँमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको प्रमुख रहेका एआइजी दिपक थापालाई पठाइएको छ।
केही समयअघि प्रहरी प्रधान कार्यालयले एआइजी ज्ञवालीविरूद्ध विभिन्न उजुरी परेको भन्दै छानबिन समिति गठन गरेको थियो। एआइजी टेकप्रसाद राई नेतृत्वको पाँच सदस्यीय छानबिन समिति बनाएर ज्ञवालीमाथि छानबिन गरिएको हो।
त्यस्तै, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा एआइजी किरण बज्राचार्यलाई लगिएको छ। उनी यसअघि प्रहरी प्रधान कार्यालय कार्यविभाग नक्सालमा थिइन्। रिक्त रहेको एक एआइजी पदमा रामदत्त जोशीलाई बढुवा गर्ने निर्णय गरिएको सञ्चारमन्त्री गुरूङले बताए। उनलाई कार्य विभागमा पदस्थापन गर्ने मन्त्रिपरिषदको निर्णय छ।
यसअघि ६० किलो सुन प्रकरण छानबिन गर्न बनेको जाँचबुझ आयोगले आफ्नो प्रतिवेदनमा तत्कालीन सिआइबी प्रमुख किरण बज्राचार्यको कमजोरी औंल्याएको भन्दै अघिल्लो सरकारका पालामा श्यामलाल ज्ञवालीलाई सिआइबी प्रमुखमा सरूवा गरिएको थियो। त्यसको केही महिनामै फेरि एआइजीहरूको सरूवा भएको हो।