शेख हसिनाको पार्टीका नेताको होटलमा आगजनी, २४ जनाको मृत्यु

बंगलादेशमा शेख हसिनाको राजनीतिक दल अवामी लिग पार्टीका जिल्ला महासचिवको होटलमा प्रदर्शनकारीले आगो लगाइदिँदा कम्तीमा २४ जनाको मृत्यु भएको छ ।

बीबीसीका अनुसार जबिरर इन्टरनेसनल होटलमा सोमबार आगो लगाइएको हो । बंगलादेशको दैनिक पत्रिका ‘डेली स्टार’का अनुसार आगो नियन्त्रणमा लिन उद्धार टोलीलाई १२ घण्टा लागेको थियो । प्रदर्शनकारीहरूले फायर फाइटरहरूलाई लामो समयसम्म होटलमा पुग्न नदिँदा उद्धार ढिला भएको थियो ।

बंगलादेशको दक्षिण(पश्चिममा रहेको सहर जसोरमा रहेको सो होटलका मालिक अवामी लिग पार्टीका जिल्ला महासचिव शाहिन चक्लादार हुन् ।

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना सन् १९८० को दशकदेखि अवामी लिग पार्टीकी प्रमुख हुन् । बंगलादेशकी प्रधानमन्त्री शेख हसिना विद्यार्थीको आन्दोलनले भयावह रूप लिएपछि सोमबार राजीनामा दिएर देश छाडेकी छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार