ग्लोबल आइएमई बैंक लिमिटेड, आइएमई लिमिटेड तथा जापानीज भाषा शिक्षक संघ नेपाल (जाल्टान) बीच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । उच्च शिक्षाका लागि जापान जान चाहने विद्यार्थीहरूलाई सहज शैक्षिक कर्जा प्रवाह गर्ने सम्बन्धमा त्रिपक्षीय समझदारी भएको हो ।
उक्त समझदारी पत्रमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, आइएमई लिमिटेडका प्रमुख सम्बन्ध व्यवस्थापन सुशील थापा तथा जाल्टानका अध्यक्ष राजेन्द्र केसीले हस्ताक्षर गरेका छन् ।
समझदारीअनुसार बैंकले जाल्टानबाट सिफारिस भएका विद्यार्थीहरूलाई जापानका विभिन्न विश्वविद्यालयमा उच्च शिक्षाका निमित्त आवश्यक पर्ने शैक्षिक कर्जा प्रवाह गर्नेछ । यसैगरी, जापान गएपश्चात् विद्यार्थीहरूले त्यहाँबाट आइएमईबाटै सजिलैसँग नेपालमा पैसा पठाउन सक्नेछन् ।
ग्लोबल आइएमई बैंक देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २७७ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीन वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत छ ।