बागलुङ पहिरो अपडेट : मृतकको संख्या आठ पुग्यो (नामावली सहित)

बागलुङ जिल्लाको बडिगाड गाउँपालिका ९ र १० मा गएको छुट्टछुट्टै पहिरोमा परेर आठ जनाको मृत्यु भएको छ । मृतक ८ जनाकै सनाखत भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।

बरालका अनुसार बडिगाड १० स्थित आरुपाटा निवासी जोगलाल बुढाको घर र गोठ पुरिँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । पहिरोमा परी चार जना गम्भिर घाइते भएको उनको भनाई छ ।

मृत्यु हुनेमा बडिगाड १० निवासी सात वर्षीया मालती बुढा, सात वर्षीय मधु बुढा, सन्जु विकको ६ महिनाकी छोरी, १२ वर्षका मनोज बुढा, १२ वर्षका अमन बुढा र ५९ वर्षका मैतीदेवि विकको मृत्यु भएको छ ।

यसैगरी संगीता बुढा, सुमित्रा विक, सीता थापा र मंगलसिंह बुढा घाइते भएका छन् । पहिरोमा अझै दुईजना पुरिएको हुनसक्ने आशंका गरिएको छ । अहिले उद्दार चलिरेको छ ।

यस्तै बडिगाड–९ मा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १५ वर्षका विधान परियार र २४ वर्षका गंगा बस्नेत रहेका छन् । परियारलाई घर माथिबाट आएको पहिरोले पुरेको थियो भने बस्नेत बाटेमा हिँड्दै गर्दा पहिरोले पुरेको थियो ।

गम्भिर घाइतेलाई हेलिकप्टर मार्फत उद्दार गर्न पहल भइरहेको प्रमुख जिल्ला अधिकारी नेत्र सुवेदीले जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार