फेरी उपत्यकाका नदी आसपासका क्षेत्र डुबानमा (भिडियो)

काठमाडौं हिजो(सोमबार) रातीदेखि परेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका विभिन्न ठाउँहरू फेरी डुबानमा परेका छन् ।

काठमाडौं महानगरपालिका महानगर प्रहरी बल/विपद् व्यवस्थापन विभागका महाशाखा प्रमुख एवं नगरप्रहरी उपरीक्षक विष्णु प्रसाद जोशीले सानोभर्‍याङ, जडिबुटी, बल्खु तरकारी बजार, माइतीघर मण्डला क्षेत्र लगायत नदी किनाराका क्षेत्र डुबानमा परेको जानकारी दिए ।

उनले उक्त क्षेत्रका स्थानीयहरूलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको जानकारी दिए । महानगरपालिकाका अनुसार  बागमती, विष्णुमती, धोबीखोला, हनुमन्ते खोला तथा बागमतीका सहायक नदीमा पानीको बहाव बढेको छ । 

नदी आसपासका सुकुम्बासी बस्ती डुबानको जोखिममा छन् । खोला उर्लिँदा बल्खु तरकारी बजार डुबानमा परेको छ । 

साउन १५ गते राति परेको अविरल वर्षाका कारण पनि काठमाडौं, भक्तपुर र ललितपुर क्षेत्रका घरहरू डुबानमा परेका थिए । काठमाडौंको बल्खुमा बाढीले बगाएर एक जनाको मृत्यु समेत भएको थियो । 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार