काठमाडौंमा १८ वर्ष माथिकाले खोप लगाउन अनलाइन फाराम अनिवार्य भर्नुपर्ने

काठमाडौंमा कोरोनाविरुद्धको खोप लगाउन अबदेखि अनलाइन फाराम अनिवार्य गरिएको छ । स्वास्थ्य कार्यालय काठमाडौंले अबदेखि ५० वर्ष वा सो भन्दा मुनिका (१८ वर्ष सम्मका) नागरिकहरुले विद्युतीय (अनलाइन) दर्ता नम्बर ल्याए मात्र कोरोनाको खोप लगाउन पाउने जानकारी गराएको छ ।

‘मिति २०७८/०४/०१ को पत्रमा उल्लेख भएकोले काठमाडौं जिल्लाका ५० वर्ष वा सो भन्दा मुनिका (१८ वर्ष सम्म्का) नागरिक र अझै खोप लाउन छुटेको भए ५० वर्ष भन्दा माथिकाले पनि छिटो भन्दा छिटो आफ्नो नाम स्वास्थ्य मन्त्रालयले तयार गरेको वेवसाइट मा गई दर्ता गराउनु हुन र सो दर्ता भएको प्रमाण लिइ आगामी दिनमा सञ्चालन हुने खोप केन्द्रमा खोप लाउन जानू हुन अनुरोध छ’ स्वास्थ्य कार्यालयले भनेको छ ।

सबै पालिकाहरुले पनि यो व्यहोरालाई आ-आफ्नो पालिका र वडाका नागरिकमा चेतना फैलाउनसमेत अनुरोध गरिएको छ ।

पछिल्लो पटक ७ गतेसम्म सरकारले उपत्यकामा जोन्सन एन्ड जोनसनको खोप अभियान सञ्चालन गरेको थियो । चीनबाट ल्याइएको खोप केहीदिनपछि लगाउन सुरु गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । सर्वसाधारणले https://vaccine.mohp.gov.np गएर अनलाइन दर्ता गर्न सक्नेछन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार