काठमाडौंमा आज भारी वर्षाको सम्भावना छ । गएरातिदेखि नै वर्षा भइरहेको काठमाडौं उपत्यकामा दिउँसो भारी वर्षाको सम्भावना रहेको हो ।
“काठमाडौंका धेरै स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ । धेरै भू–भागमा वर्षा भइसकेको छ,” मौसमविद् गोविन्द झाले भने, “दिउँसो पनि वर्षा हुनेछ । काठमाडौंमा भारी वर्षाको सम्भावना छ ।”
चौबीस घण्टामा ५० देखि १०० मिलिमिटरसम्मको वर्षालाई भारी वर्षा भनिन्छ ।
दिनभर निरन्तर वर्षा नभए पनि केही समय रोकिने र पुनः पानी पर्ने क्रम दिनभर चलिरहने उनको भनाइ छ । राति पनि दिउँसोको जस्तै मौसम हुुने उनले बताए ।
“आज र भोलि नै काठमाडौंमा बदली र वर्षा हुनेछ,” मौसमविद् झाले भने, “मनसुनी प्रणाली थप सक्रिय हुँदा वर्षा भइरहेको हो ।”
हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतर्फ अवस्थित छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतर्फ रहँदा मनसुनी प्रणाली थप सक्रिय हुन्छ, र धेरै वर्षा हुन्छ । यो रेखा दक्षिणतर्फ रहँदा कम वर्षा हुन्छ ।