जसपा यादव पक्ष: सोमबार परिचय खुल्ने कागजातसहित निर्वाचन आयोगमा उपस्थित हुने

बैठकमा ३३ जना सदस्य सहभागी भएको दाबी

जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादव पक्षले आफुसँग बहुमत कार्यकारिणी सदस्य रहेकाले सोमबार निर्वाचन आयोगमा उपस्थित हुने निर्णय गरेको छ ।

पार्टी कार्यालय बालकुमारीमा शनिबार बसेको सो पक्षको कार्यकारिणी बैठकले सबै सदस्यहरुलाई परिचय खुल्ने सक्कल कागजातसहित आयोगमा पुग्न निर्देशन पनि दिएको छ ।

शनिबारको बैठकमा ५१ मध्ये ३३ जना सदस्य सहभागी भएको र आफुहरुसँग बहुमत रहेको बैठकपछि नेता महेन्द्र राय यादवले जानकारी दिए । त्यस्तै जसपाका अर्को पक्षले सर्वोच्चमा दिएको रिट निवेदनका विषयमा पनि बैठकमा छलफल भएको थियो ।

त्यस्तै बैठकमा संसदीय दलबाट पाारित संसदीय दलको बिधान प्रस्तुत भएको उनले बताए । विधान अध्ययनका लागि कार्यकारिणी सदस्यहरुलाई उपलब्ध गराइएको यादवले जानकारी दिए । कार्यकारिणी बैठकबाट विधान पारित भएपछि संसदीय दलको नेता चयनको प्रक्रिया सुरु हुने यादवले बताए ।

यसअघि निर्वाचन आयोगले जसपाको आधिकारिकता विवाद टुंगो लगाउन कार्यकारिणी समिति सदस्यलाई साउन ११ गते बोलाउने निर्णय गरेको थियो तर आयोगको प्रक्रिया रोक्न जसपाका महन्थ पक्षले सर्वोच्चमा रिट दायर गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार