बंगलादेशका सेना प्रमुखले भने– अन्तरिम सरकार बन्छ 

विद्यार्थी आन्दोलनको दवाव थाम्न नसकेपछि बंगलादेशकी प्रधानमन्त्री सेख हसिनाले राजीनामा दिएर देश छोडेकी छन्। प्रदर्शनकारी प्रधानमन्त्रीको सरकारी निवासमा प्रवेश गरेका छन् ।

रिक्तता र अशान्तिपूर्ण अवस्था नियन्त्रणमा लिने तयारीमा बंगलादेशको सेना लागेको छ । सेना प्रमुख जनरल वाकर उज जमानले देशबासीका नाममा सम्बोधन गरेका छन् ।

देशबासीका नाममा सम्बोधन गर्दै उनले बंगलादेशमा अन्तरिम सरकार बनाउने बताएका छन् । उनले अन्तरिम सरकार बनाउन छलफल भइरहेको जानकारी गराएका छन् । अहिले विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल भइरहेको उनको भनाइ छ ।

विपक्षी दल बंगलादेश नेशनालिस्ट पार्टी (बिएनपी) का नेताहरूसँग पनि छलफल गरिरहेको अलजजिराको समाचारमा उल्लेख छ ।

बंगलादेशको राजधानी ढाकामा हजारौं प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन् । उनीहरू प्रधानमन्त्री निवास गणभवनमा समेत प्रवेश गरेका छन् ।

प्रधानमन्त्री हसिनाले राजीनामा दिएको पुष्टि गर्दै सेना प्रमुखले अब राष्ट्रपतिसँग भेटका लागि समय मिलाएको बताएका छन् । उनले विद्यार्थीलाई शान्त रहन आग्रह गर्दै विद्यार्थी हत्याको अनुसन्धान गर्ने समेत प्रतिवद्धता जनाएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार