सर्लाहीको मलङ्गवा नगरपालिका–१२, गम्हरियामा आइतबार बोलबमका तिर्थयात्री सवार ट्याक्टर नहरमा खस्दा एक जनाको मृत्यु भएको छ । चक्रघट्टा गाउँपालिका–५ पडरिया निवासी ४५ वर्षीया पतही देवीको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भिर घाइते पतही देवीको वीरगंजस्थित नेशनल मेडिकल कलेजमा आइतबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक श्रेष्ठले जानकारी दिए ।
दुर्घटनामा मृतक पतहीकी छोरीसहित अन्य चार जना घाइते भएका छन् । पतहीकी छोरी ११ वर्षीया अंशु कुमारी, चक्रघट्टा गाउँपालिका–५, पडरियाकै २६ वर्षीया शान्ति देवी, उनकी छोरी ९ वर्षीया सुस्मिता कुमारी र ४० वर्षीया गीता देवी घाइते भएका हुन् । उनीहरुको उपचार प्रादेशिक अस्पताल मलङ्गवामा भइरहेको छ ।
भारतको मढियास्थित मन्दिरमा जल चढाएर फर्किएका तिर्थयात्री बोकेर चक्रघट्टा गाउँपालिका–५, पडरियातर्फ जाँदै गरेको ज २ त ३२७ नम्बरको ट्याक्टर आइतबार बिहान ११ बजेतिर गम्हरिया छेउको नहरमा खसेर दुर्घटना भएको हो । ट्याक्टर नियन्त्रण गुमाएर भरी पानी रहेको नहरमा खसेको प्रहरीले जनाएको छ ।
ट्याक्टरमा २५ जना तिर्थयात्री सवार रहेकोमा अन्य सकुशल रहेका छन् । दुर्घटनापछि फरार रहेका ट्याक्टर चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मलङ्गवाले जनाएको छ ।