खेलाडी र कलाकारलाई राखेर क्रिकेट रंगशाला निर्माणबारे प्रधानमन्त्रीले गरे छलफल

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल क्रिकेट संघका पदाधिकारी, खेलाडी र कलाकारसँग छलफल गरेका छन् । सिंहदरबारमा आइतबार बिहान उनीहरुसँग रंगशाला निर्माणको बारेमा छलफल गरेका हुन् ।

प्रधानमन्त्री ओलीले बोलाएको छलफलमा क्यानका पदाधिकारी, खेलाडीसहित गायकरकलाकार बद्री पंगेनी, प्रकाश सपूत, रचना रिमाल, केकी अधिकारी, राजा राजेन्द्र पोखरेल, मिरुना मगरलगायत सहभागी थिए ।

भेटपश्चात ओलीले फेसबुकमार्फत भनेका छन्, ‘क्रिकेट रंगशालाका विषयमा आज क्यानका पदाधिकारी, खेलाडी, खेल प्रेमी कलाकार र सचिवालयका साथीहरुबीच छलफल भयो । यससँगै रंगशाला निर्माणको कामलाई द्रूत गतिमा अघि बढाउन सजिलो हुने छ । आजको बिहानी खाजा भेटपछि म उत्साहित छु ।’

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले ३०० दिनभित्र कीर्तिपुरस्थित टियु क्रिकेट रंगशालामा फ्लड लाइट र प्याराफिट निर्माण गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री ओलीले क्रिकेट रंगशालालाई सुविधा सम्पन्न बनाउने घोषणा गरेका थिए ।

तत्पश्चात रंगशालाको कामलाई द्रूत गतिमा अघि बढाउन ओलीले विभिन्न चरणमा छलफल गरिरहेका छन् । ओलीले यस अगाडि क्यानका पदाधिकारी र त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. केशरजंग बराल, विश्वविद्यालयका रेक्टर र रजिष्टारसँग पनि छुट्टाछुट्टै छलफल गरेका थिए । रंगशाला रहेको जग्गा लिजमा उपलब्ध गराउने विषयमा उनीहरूबीच छलफल भएको हो । प्रधानमन्त्री ओलीले टियु क्रिकेट रंगशाला रहेको जग्गा लिजमा उपलब्ध गराउन आग्रह गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार