सात दिनपछि भेटियो धार्चेको पहिरोमा बेपत्ता युवकको शव

उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेमा पहिरोमा बेपत्ता थप एक जनाको शव सात दिनपछि फेला परेको छ ।

आरुघाट गाउँपालिका–८, लामागाउँका २४ वर्षीया रमेश परियारको शव आज शनिबार बिहान भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए ।

परियारको शव घटनास्थलदेखि करिब दुई किलोमिटर तल रेसे खोलामा फेला परेको उनले बताए ।

ट्याक्टर चालक परियार घटनाको अघिल्लो दिन शनिबार साँझ रेसेमा पुगेर स्थानीय जितबहादुर गुरुङको कृषि फार्ममा बास बस्ने क्रममा राती गएको पहिरोमा परेर बेपत्ता भएका थिए ।

गत आइतबार रेसेमा गएको भीषण पहिरोमा परी पाँच जना बेपत्ता भएका थिए ।

तीमध्ये ७० वर्षीय सुलाल कान्छा गुरुङ, ३७ वर्षीय जितबहादुर गुरुङ, ३३ वर्षीय रेशम गुरुङ र ३५ वर्षीय कान्छी गुरुङका शव यसअघि नै फेला परेका थिए ।

पहिरोमा परेर सोही ठाउँका ३५ वर्षीय दिलीप गुरुङ र २७ वर्षीय खमबहादुर गुरुङ घाइते भएका थिए । घाइतेहरूको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार