आज यी चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ ।

यतिबेला (शनिबार बिहान) देशभरको मौसम आंशिकदेखि साधारणतया बदली छ । काठमाडौँ उपत्यकाको आकाशमा पनि अहिले बादल लागेको छ ।

कोशी र लुम्बिनी प्रदेशका केही स्थानका साथै बाँकी प्रदेशका पनि थोरै स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भैरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा मधेस र कर्णाली प्रदेशका थोरै स्थानमा दिउँसो मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।

कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा दिउँसो भारी वर्षाको पनि सम्भावना छ । कोशी प्रदेशका एक/दुई स्थानमा आज दिउँसो धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।

कोशी, बागमती, गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा राति पनि मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार