अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा बयान फेरेको आरोपमा दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
चितवनको कालिका नगरपालिका–६ घर भई हाल पोखरा महानगरपालिका–१० बस्ने केशरीप्रसाद तिवारी र उर्मिला पौडेलविरुद्ध अख्तियारले शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
रंगेहात घुसको मुद्दामा अदालतमा साक्षीको रुपमा पेश गरिएका उनीहरुले बयान फेरेपछि उनीहरुमाथि पनि अख्तियारले मुद्दा चलाएको हो । अख्तियारले २० बैशाख, २०८१ मा पोखरा महानगरपालिकाका दुई इञ्जिनियर सहित ३ जनामाथि घुस लेनदेन गरेको आरोपमा भ्रष्टाचारमुद्दा दायर गरेको थियो ।
अख्तियारले महानगरको नक्सा शाखामा कार्यरत सब–इञ्जिनियर उषाकिरण रोकाया, इञ्जिनियर शिवप्रसाद बराल र गोदार कन्सल्टेन्सीका सुरज कुँवर विरुद्ध मुद्दा दायर गरेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गण्डकी प्रदेश कार्यालय पोखराबाट खटिएको टोलीले रोकाया र कुँवरलाई सेवाग्राहीसँग घुस लिँदै गर्दा चैत २८ गते पक्राउ गरेको थियो भने अनुसन्धानका आधारमा संलग्नता देखिएपछि इन्जिनियर बराल वैशाख ४ गते पक्राउ परेका थिए ।
त्यही घटनामा संलग्न भएपछि अख्तियारले केशव प्रसाद तिवारी र उर्मिला पौडेललाई मुद्दा नचलाई सरकारी साक्षीको रुपमा अदालतमा पेश गरेको थियो । तर विशेष अदालतमा उपस्थित भएका उनीहरुले उल्टो बकपत्र गरेको भनी उनीहरुमाथि समेत मुद्दा चलाएको हो । दायर गरिएको मुद्दामा उनीहरूसँग साढे तीन लाख रुपैयाँ बिगो दाबी गरिएको छ ।
सब इञ्जिनियर रोकाय र इञ्जिनियर बरालले घुस लिन लागेको टिभी अन्नपूर्णले थाहा पाएर अख्तियारको टोलीसहित पोखरा पुगेर उनीहरुलाई रंगेहात पक्राउ गरेको थियो ।