ओली र नेपालसँग भट्टराईको माग- अखिल र युथ फोर्स खारेज गर्नुहोस्

नेकपा एमालेका सचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालसमक्ष युथ फोर्स र अखिल फोर्स तत्काल खारेज गर्न माग गरेका छन् ।

भट्टराईले अनेरास्ववियू र युवा संघजस्ता संगठनलाई ओझेलमा राखेर निर्माण गरिएका अखिल र युथ फोर्सको कुनै औचित्य नभएको उल्लेख गर्दै तत्काल खारेजीको माग गरेका हुन् । उनले समूहमार्फत अन्य संगठन तयार गरिएको भन्दै त्यसको औचित्यमाथि प्रश्न गरेका छन् । ‘अनेरास्ववियु र युवासंघ जस्ता संगठनलाई ओझेलमा राखेर निर्माण गरिएका युथ फोर्स अखिल फोर्सको औचित्य के छ ?’ भट्टराईले प्रश्न गरेका छन् ।

भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘समाजमा आतंकको आभास दिने र युवाहरुलाई अराजनीतिकरण गर्दै कानुन हातमा लिएर राजनीतिलाई अपराधीकरण गर्न उद्दत यस्ता बाहुबली समूहहरु तत्काल खारेज गर्नु पर्दछ । अनेरास्ववियू र युवासंघ जस्ता संगठनलाई सही नीति र नेतृत्व प्रदान गरेर राजनीतिक र सामाजिक काममा अग्रसर गर्नु पर्दछ । के काम हुन्छन जो युवासंघ र अनेरास्ववियूले गर्न नसक्ने तर युथफोर्स र अखिल फोर्सले मात्र गर्नसक्ने ?’

एमालेभित्र हालै मात्र गुटगत संगठनहरु निर्माण भएका छन् । समानान्तरण जनवर्गीय संगठन निर्माण गरेका माधव समूह निकट अनेरास्ववियुले अखिल फोर्स निर्माण गरेको छ । अध्यक्ष ओली पक्षले युथ फोर्स ब्युँताएपछि नेपाल समूहले अखिल फोर्स तयार गरेको हो । नेपाल निकट युवा संघले पिपुल्स भोलिन्टियर ‘पीभी’ पनि ब्युँताउने तयारी गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार