चितवनको शारदानगरस्थित घोलमा बिहीबार बिहान मृत भेटिएका नेपाली सेनाका हुद्दा भरत गुरूङलाई उनकै साथीले गोली हानी हत्या गरेको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले हत्या आरोपमा भरतपुर महानगरपालिका–२० का गंगाधर ढकाललाई पक्राउ गरेको हो ।
काठमाडौंबाट सँगै चितवन आएका नेपाली सेनाका सिपाही ढकालले हत्या गरेको खुलेको हो ।
चितवनका एसपी ओम अधिकारीका अनुसार ढकालले जग्गा कारोबारमा आठ लाख रुपैयाँको लागि हत्या गरेको प्रहरी समक्ष बयान दिएका छन् ।
गंगाधरलाई प्रहरीले बिहीबार अपरान्ह भरतपुर–२० चनौलीबाट पक्राउ गरेको थियो। पक्राउ परेका ढकालको साथबाट प्रहरीले एक थान गोलीको खोका, एसएमजी हतियार एक थान, नगद ८ लाख रूपैयाँ, मोटरसाइकल लगायत घटनामा प्रयोग भएका सामग्री बरामद गरेको छ ।
धादिङको निलकण्ठ नगरपालिका घर भएका भरत गुरुङको शव बिहिबार विहान सिमलडाँडा खेत नहरमा फेला परेको थियो । उनको टाउकोमा गोली लागेको थियो । शव पोष्टमार्टमका लागी भरतपुर अस्पतालमा राखिएको छ ।
महेन्द्र दल गण राष्ट्रिय निकुञ्ज शिवपुरी, टोखा दरबन्दी भएका भरत ६ दिनको बिदा लिएर चितवन पुगेका थिए । धादिङको निलकण्ठ नगरपालिका–१३ का ३६ वर्षीय भरत गत पुसमा मात्रै शान्ति सेनाको मिसनमा लेवनान पुगेर फर्किएका थिए।