चितवनको राप्ती नगरपालिका–३ की २३ वर्षीया सुजिता भण्डारीको मृत्यु प्रकरणमा आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता भएको छ। भण्डारीलाई आत्महत्याका लागि दुरुत्साहन गरिएको भन्दै परिवारले जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गरेको हो। आफन्त पर्ने एक युवकको नाम तोकेर सुजिताकी आमा अम्बिका भण्डारीले आत्महत्या दुरुत्साहनको जाहेरी दिएकी हुन् ।
भण्डारीको गत असार २० गते ब्रम्हस्थानी सामुदायिक वनभित्र शव भेटिएको थियो । प्रहरीले २१ असारमा उनको शव बरामद गर्दा नजिकै विषको बट्टा भेटिएकाले पनि यो आशंका गरिएको थियो । शव भेटिएको ९ दिन अघि उनी साथी कहाँ जाने भन्दै घरबाट हिंडेकी थिइन् ।
बिहान ६ बजेतिरै घरबाट निस्किएकी उनी खाना खाने बेला पनि आएकी थिइनन् । दिउँसो १२ बजेतिर अपहरित भएको भन्दै फोन आएपछि परिवारले प्रहरीलाई खबर गरेको थियो ।
तर अपहरणलाई पुष्टि गर्ने आधार प्रहरीले भेटेको थिएन । त्यहीबीच जंगलमा उनको शव भेटिएको थियो । शव भेटिएको एक महिना पुगिसक्दा भण्डारीको मृत्युको कारण अझै खुल्न सकेको छैन । काठमाडौंको सामाखुशीस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा भएको भिसेरा परीक्षणको रिपोर्ट नआउँदा मृत्युको कारण खुल्न ढिलाइ भएको बताइएको छ ।