पेरूमा ६ वटा इन्धन ट्याङ्कर दुर्घटना, कैयौँ व्यक्तिको मृत्यु भएको आशङ्का

पेरूमा इन्धन बोकेर सडकमा गुडिरहेका ट्याङ्कर विष्फोट हुँदा सडक छेउछाउमा रहेका कैयौँ व्यक्तिको मृत्यु भएको हुनसक्ने पेरूको प्रहरीले बताएको छ ।

पेरूको राष्ट्रिय राजमार्ग प्रहरी प्रमुख एर्लिन सिल्भाले घटनाको पुष्टि गरेका छन् । घटनामा कति व्यक्तिको ज्यान गएको हो भन्नेबारे अझै एकीन विवरण सार्वजनिक नभएको उनले बताए ।

स्थानीय समय अनुसार शनिबार एक पेरूभियाली टेलिभिजनसँगको अन्तवार्तामा उनले घटनाको विवरण दिँदै भने, “सडकमा इन्धन बोकेर गुडिरहेको एक ट्याङ्करमा सडकमाथिबाट आएको एउटा चट्टानले पहिलो ट्याङ्करमा लागेको र ट्याङ्करबाट इन्धन चुहिएर उक्त ट्याङ्करमा आगो लागिपछि विष्फोट भएको र क्रमशः अन्य ट्याङ्करमा पनि आगलागी र विष्फोट भएको प्रत्यक्षदर्शी स्थानीयले बताएका छन् । घटनाबारे अनुसन्धान सुरू भइसकेको छ ।”

घटनास्थल राजधानी लिमाबाट ८६ किलोमिटर टाढाको राजमार्गमा भएको हो । आगलागी नियन्त्रण र बस्तीमा फैलिन नदिनका लागि १० दमकल घटनास्थलमा पुगी निरन्तर काम गरिरहेका बताइएको छ ।

विष्फोटका कारण राजमार्गमा गुडिरहेका कार तथा अन्य गाडीहरूमा पनि असर परेको बताइएको छ तर कति व्यक्तिको मृत्यु भएको वा घाइते भएको भन्ने विवरण अझै आइसकेको छैन ।

पेरूको यातायात तथा सूचना मन्त्रालयले आफ्नो ट्वीटरमार्फत् उक्त क्षेत्रमा गाडी तथा मानवीय आवतजावतलाई तत्कालका लागि रोकिएको र सवारी चालकहरूलाई सावधानी अपनाउन आग्रह गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार