अमरेशलाई कारवाही नगरे सामूहिक राजिनामा दिने भन्दै १२ नेताले पठाए देउवालाई पत्र

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद अमरेशकुमार सिंहलाई कारबाहीको माग गर्दै उनकै जिल्लाका १२ जना नेताले सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र पठाएका छन् । अमरेशलाई कारबाही नगरिए आफूहरुले पदबाट राजीनामा दिने भन्दै सर्लाहीका प्रदेश नम्बर २ का महिला बालबालिका युवा तथा खेलकुद मन्त्री वीरेन्द्र सिंहसहित सर्लाही जिल्लाका जनप्रतिनिधि तथा नेताहरुले कारबाही गर्न माग गरेका छन् ।

पार्टीको क्रियाशील सदस्यता वितरणमा धाँधली भएको भन्दै अमरेशले बुधबार पार्टी सभापति देउवा समक्ष राजीनामा बुझाएका थिए । सिंहले नै रामगोविन्द रायलाई पार्टी कार्यालयमा आमरण अनसनमा राखेको उनीहरुको आरोप छ । सर्लाहीका चारवटै निर्वाचन क्षेत्रमा क्रियाशील सदस्यता वितरणमा धाँधली भएको विरोधमा राय आमरण अनसनमा छन् ।

‘पार्टी विरोधी र पार्टी संगठनलाई कमजोर गर्ने कार्यमा संलग्न अमरेशकुमार सिंहलाई कारबाही नभए हामी नै राजीनामा दिन बाध्य हुने जानकारी गराउँछौं,’ सर्लाहीका १२ नेताले देउवालाई पठाएको पत्रमा उल्लेख छ । सिंहको जालझेलबाट सर्लाहीका जनता आतंकित भएको पनि उनीहरूको दाबी छ ।

मन्त्री सिंहसहित, प्रदेश सभा सदस्य उपेन्द्र प्रसाद कुशवाहा, क्षेत्रिय सभापति राम आश्रय साह, बसबरिया गाउँपालिका अध्यक्ष राम अयोध्या यादव, रामनगर गाउँपालिका अध्यक्ष नितु कुमारी यादव, क्षेत्रिय सभापति हरेन्द्र सहनी, अशोक कुमार सिंह, बाल किशोर सिंह, उपेन्द्र महतो, लालबाबु महतो, बैजनाथ प्रसाद सिंह र राम एकवाल साहले संयुक्त रुपमा पठाएको पत्रमा अमेरश कुमार सिंहविरुद्ध विभिन्न आरोपहरु लगाइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार