माओवादी नेता पाण्डेको हत्यामा संलग्न अभियुक्तहरु कारागार चलान

माओवादी केन्द्र कपिलवस्तुका नेता दीपक पाण्डेको हत्यामा संलग्न योजनाकार मृतकको श्रीमती महिमा पाण्डे लगायत ११ जना आरोपी पुर्पक्षका लागि जेल चलान भएका छन् ।

पाण्डेको हत्या गर्ने र हतियार दिने गिरोहमा संलग्न ११ अभियुक्तलाई कपिलवस्तु जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलान गरेको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताए ।

माओवादी नेता पाण्डेलाई जेठ ५ गते कपिलवस्तु नगरपालिका वडा नम्बर ६ गोबरीमा गोली प्रहार गरिएको थियो । गोली लागेर गम्भिर घाइते पाण्डेको उपचारका क्रममा जेठ १० गते काठमाडौँको शिक्षण अस्पतालमा मृत्यु भएको थियो ।

पाण्डेसहित तिन जना मोटरसाइकलमा सवार भई तौलिहवा फर्किँदै गर्दा उनीहरू माथि गोली प्रहार भएको थियो ।

सो सम्बन्धमा प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारी नेतृत्वको टोलीले अनुसन्धानका क्रममा घटनामा संलग्न कपिलवस्तु नगरपालिका वडा नम्बर १ का ओम प्रकाश यादव र उनले लुकाई राखेको पेस्तोल एक थान, सो को म्याग्जिन तथा ६८ राउन्ड गोली बरामद गरेको थियो ।

त्यसैसरि हत्यामा संलग्न कपिलवस्तु नगरपालिका २ बस्ने सिकार अलिपखिया र निजले प्रयोग गरेको कटुवा पेस्तोल र गोली २ थान तथा कपिलवस्तु नगरपालिका वडा नम्बर २ घर भई वडा नम्बर ६ ससुरालीमा बस्दै आएका रमजान साह मुसलमान र निजले घटनास्थलमा प्रयोग गरेको स्वचालित पेस्तोल सो को म्याग्जिन तथा ८ राउन्ड गोली प्रहरीले बरामद गरेको हो ।

प्रहरीले सिकार अलिपखियाले हत्यामा प्रयोग गरेको कटुवा पेस्तोल आफ्नो घरमा लुकाउने कपिलवस्तु नगरपालिका १ का पूर्ण वीर पाल्पालीलाई समेत नियन्त्रणमा लिएको थियो ।

त्यस्तै प्रहरीले पाण्डेय हत्यामा आवश्यक पर्ने हतियार उपलब्ध गराएका र हतियार राख्न सहयोग पुर्‍याएका ६ जनालाई नै नियन्त्रणमा लिएको थियो ।

प्रहरी नियन्त्रणमा आएका हतियार बेचबिखन र ओसारपसारमा संलग्न व्यक्तिहरूमा कपिलवस्तु नगरपालिका वडा नम्बर २ बरदहवाका सद्दाम हुसेन खान, सोही वडाको बरगदवाका प्रवीण गुप्ता, यशोधरा गाउँपालिका ४ का ज्ञानेन्द्र कुमार पाण्डेय र राधेश्याम चौधरी, कपिलवस्तु नगरपालिका वडा नम्बर ५ का श्रीराम कुर्मी, वडा नम्बर १ मस्जिद टोलका नरसत अलि रहेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार