गण्डकीमा माओवादीले टुंग्यायो तीन मन्त्रीको नाम, कांग्रेसले शुक्रबार १ बजे अगाडी टुंग्याउने

११ मन्त्रालयको तीन दलबीच यसरी भयो बाँडफाँड

गण्डकी प्रदेश माओवादी केन्द्रले सरकारमा जाने तीनजना मन्त्रीको टुंगो लगाएको छ । नयाँ सरकार गठन भएको झण्डै डेढ महिनामा सत्तारुढ दलबीच मन्त्रालयको भागबण्डा मिलेको हो । भागबण्डा मिलेसँगै माओवादीले आफ्नो पार्टीबाट बन्ने तीन जना नयाँ मन्त्रीको नाम टुंगो लगाएको हो ।

गण्डकी प्रदेशमा माओवादीबाट यसअघि नै मधुमाया अधिकारी स्वास्थ्य तथा जनसंख्या मन्त्री भइसकेकी छन् । माओवादीले अर्थमा रामजी बराल, कृषिमा चन्द्रबहादुर बुढा र वनमा दीपक घर्तीलाई पठाउने भएको छ । बराल कास्की, चन्द्रबहादुर बागलुङ र दीपक चर्ती मगर स्याङ्जाका हुन् ।

शुक्रबार गण्डकीको मन्त्रिपरिषद् विस्तार हुने सरकारका प्रवक्ता एवं मन्त्री कुमार खड्काले बताए । बिहीबार मन्त्रिपरिषद् विस्तार गर्ने कार्यक्रम तय भए पनि मन्त्रालयको टुंगो नलागेका कारण यत्तिकै रोकिएको थियो ।

माओवादीले ११ मन्त्रालयमध्ये ४ मन्त्रालय पाउने गरी भागबन्डा गरिएको छ । यस्तै कांग्रेसले मुख्यमन्त्रीसहित ५ मन्त्रालय पाउने छ । २ मन्त्री मागेको जनता समाजवादीका हरिशरण आचार्य ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री छन् । जसपाले एक मन्त्रालय मात्र पाउने प्रवक्ता खड्काले जानकारी दिए । स्वतन्त्र सांसद दीपक मनाङे युवा तथा खेलकुद मन्त्री छन् भने राष्ट्रिय जनमोर्चा सरकारमा नजाने भएको छ ।

प्रवक्ता खड्काले शुक्रबार दिउँसो १ बजे शपथ कार्यक्रम तय भएकाले त्यस समयसम्म मुख्यमन्त्रीले कांग्रेसबाट मन्त्रीको टुंगो लगाउने बताए । उनका अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित कांग्रेसले भौतिक पूर्वाधार विकास, शिक्षा संस्कृति प्रविधि तथा सामाजिक विकास, पर्यटन र कानुन मन्त्रालय पाउने भएको छ ।

कांग्रेस, माओवादी, जसपा र राजमोको समर्थनमा गत २९ जेठमा मुख्यमन्त्री बनेका कांग्रेसका कृष्णचन्द्र नेपालीले गठबन्धनबीच विवाद उत्पन्‍न हुँदा मन्त्रिपरिषद् विस्तार गर्न सकेका थिएनन् ।

Loading...