नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अपमान सहेर कोही बस्न नसक्ने बताएका छन् ।
बिहीबार पुष्पलाल स्मृति दिवसको अवसरमा काठमाडौंको चम्पादेवीमा आयोजित कार्यक्रममा बोल्दै नेता नेपालले अपमान सहेर बस्न पनि नसकिने र आफूले बनाएको घर छाडेर हिँड्न पनि मुश्किल पर्ने बताए ।
‘कसैलाई आफूले बनाएको घर छाडेर हिँड्ने मन हुन्न तर अपमान सहेर कोही पनि बस्दैन,’ नेपालले भने, ‘गलत कुकर्म सहेर कोही पनि बस्न हुन्न । त्यो प्रशीक्षण हामीले पाएका छैनौं ।’
वरिष्ठ नेता नेपालले पार्टी कसरी अघि बढ्छ भनेर पर्खेर हेरिरहेको पनि बताएका छन् । क्रान्तिकारी पार्टीको स्वरुप लिएर एमाले अगाडि बढोस् भन्ने चाहेको भन्दै उनले भने, ‘त्यो स्वरुपमा अगाडि बढ्छ कि बढ्दैन, पर्खेर हेरिरहेका छौं ।’
गलत कुरालाई स्वीकार गरेर शिर निहुर्याएर दासत्व मान्न नसकिने उनको भनाइ छ । ‘अरुको अपमान गर्ने मान्छेहरुले समाजको अपमान गर्छ, त्यसलाई कुसन्तान भन्छन्, त्यसलाई निरुत्साहित गर्नुपर्छ ’ नेपालले भने ।
कम्युनिष्ट पार्टीमा नीति र विचार प्रधान हुने तर नेता प्रधान नहुने उनको भनाइ थियो ।