आज राति मनसुनी रेखा अझ नेपालतिर सर्ने, यी ४३ जिल्ला उच्च जोखिममा

पानी पार्ने मौसम प्रणाली मनसुन आज (बुधबार) रातिदेखि अझ सक्रिय हुने र देशभर वर्षाको मात्रा बढ्ने भएकाले सजगता अपनाउन जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले सबैलाई आग्रह गरेको छ ।

महाशाखाले असार २६ गते रातिदेखि आगामी शनिबारसम्म नेपालमा मनसुन सक्रिय हुने सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार यस अवधिमा सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना छ ।

महाशाखाका अनुसार हाल मनसुन न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपालको दक्षिण सिमाना आसपास) छ । आज रातिबाट उक्त रेखा अझ नेपालतिर सर्ने सम्भावना छ ।

यसैबीच महाशाखाले सो अवधिमा देशका ४३ जिल्ला उच्च जोखिममा रहेको जनाएको छ ।

ती ४३ जिल्ला यसप्रकार छन्- ताप्लेजुङ, पाँचथर, सिराहा, मकवानपुर, सप्तरी, चितवन, संखुवासभा, धनुषा, सिन्धुपाल्चोक, तेह्रथुम, बारा, दोलखा, म्याग्दी, बागलुङ, कास्की, पर्वत, कपिलवस्तु, रुपन्देही, पाल्पा, गुल्मी, मोरङ, पर्सा, झापा, रौतहट, धादिङ, सिन्धुली, स्याङ्जा, नवलपरासी पश्चिम, तनहुँ, दाङ, सुनसरी, सर्लाही, रसुवा, नवलपरासी पूर्व, इलाम, महोत्तरी, लमजुङ, धनकुटा, गोर्खा, भोजपुर, खोटाङ, सोलुखुम्बु र उदयपुर ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार