एमालेले सबै केन्द्रीय सदस्यलाई आफ्नै भूगोलको जिम्मेवारीमा फर्काउने

नेकपा एमालेले पार्टीका सबै केन्द्रीय सदस्यहरूलाई आफ्नै भूगोलको जिम्मेवारीमा फर्काउने निर्णय गरेको छ । गत वर्ष एक वर्षका लागि पार्टीका सबै केन्द्रीय सदस्यहरुलाई सम्बन्धित भूगोलभन्दा बाहिरको जिम्मेवारी दिएको थियो ।

एमाले सचिवालयको बुधबारको बैठकले आफ्नै भूगोलको जिम्मेवारीमा फर्काउने निर्णय उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

उपमहासचिव ज्ञवालीका अनुसार नयाँ कार्यविभाजनको आधार अब केन्द्रीय सदस्यलाई सबैभन्दा तल्लो इकाइका रुपमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन क्षेत्रको जिम्मा दिने, जिल्ला वा प्रदेशको पनि लिनसक्ने व्यवस्था मिलाइने छ । सबैभन्दा आधारभूत इकाइ निर्वाचन क्षेत्र समन्वय कमिटी (निर्वाचन क्षेत्र) लाई आधार बनाएर कार्यविभाजन गर्ने जानकारी दिए ।

‘हामीले गत वर्ष एक वर्षका लागि पार्टीका सबै केन्द्रीय सदस्यहरुलाई सम्बन्धित भूगोलभन्दा बाहिरको जिम्मेवारी दिएका थियौं । त्यो एक वर्षको अवधि पूरा भएको छ । अब उहाँहरुलाई आफ्नै कार्यक्षेत्रमा फर्काइनेछ’, उनले भने, ‘नयाँ कार्यविभाजनको आधार अब केन्द्रीय सदस्यलाई सबैभन्दा तल्लो इकाइका रुपमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन क्षेत्रको जिम्मा त्यो भन्दामाथि जिल्ला वा प्रदेशको पनि लिनसक्नुहुन्छ अब । सबैभन्दा आधारभुत इकाइ निर्वाचन क्षेत्र समन्वय कमिटी (निर्वाचन क्षेत्र) लाई आधार बनाएर कार्यविभाजन गर्नेछौं ।’

केन्द्रले निर्वाचन क्षेत्रलाई कार्यविभाजनको इकाइ बनाउने भएको कारणले अब प्रदेशले आफ्ना सदस्यहरुको कार्यविभाजन गर्दा पालिकालाई आधार बनाउने पनि उनले जानकारी दिए ।

‘जिल्ला कमिटीले आफ्ना वडालाई बनाउने छ । पालिकाले टोललाई बनाउनेछ । टोल कमिटीले टोलभित्र रहेका प्रत्येक घरको हिसावले कार्य सदस्यहरुको कार्यविभाजन हुनेछ । त्यो आगामी बैठकमा हुनेछ । सबै जिल्लालाई साउन महिनाभित्रमा पार्टी सदस्यता नवीकरण गरेर भदौसम्म संगठन विभागबाट त्यसको प्रमाणीकरण गरिसक्ने निर्णय गरेका छौ’, उनले भने ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार