बेसहारा बुवाआमाको कथामा ‘लापत्ता सन्तान’ तयार

विभिन्न कारण बेसहारा बनेर वृद्धाश्रम पुगेका बुवाआमाको कथामा डकुमेन्ट्री सर्ट फिल्म ‘लापत्ता सन्तान’ तयार भएको छ ।

रामजी ज्ञवालीको लेखन, निर्माण एवं निर्देशनना बनेको फिल्मको मंगलबार फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।

पोस्टरमा फिल्मका मुख्य कलाकारहरु रश्मी भट्ट, ओजस्वी विक्रम विष्ट, आशिष पराजुली, सविना राउत, निलम भट्ट र मनीष पी निरौलालाई देख्न सकिन्छ ।

फिल्मको टिजर केही दिनमा सार्वजनिक गरिने निर्देशक ज्ञवालीले बताए । ‘टिजरबाट केही कथा बोल्छौं । पूरा फिल्म भने केही ढिला सार्वजनिक गर्ने हाम्रो तयारी छ,’ उनले भने ।

फिल्म निर्माण गर्न ज्ञवालीले ९ लाख खर्च गरेको दाबी गरे । फिल्म निर्माण गर्नुको उद्देश्य कमाउनेभन्दा पनि जनचेतना फैलाउने रहेको उनको भनाइ छ ।

निरज कँडेलको डीओपी र नहकुल खड्काको सम्पादनमा तयार भएको फिल्मको कलर संयोजन राजेन्द्र मोक्तानले गरेका हुन् । यसअघि ज्ञवालीले डार्क मुनु, एक लभरु, आराध्या, हनिमुनलगायत सर्ट फिल्म बनाइसकेका छन् ।

विशेष शो र फेस्टिभललाई लक्ष्य गरेर निर्माण गरिएको डकुमेन्ट्री सर्ट फिल्म ‘रित्तो गाउँ’ भने युट्युबमा सार्वजनिक गरेका छैनन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार