कोशीका मुख्यमन्त्री कार्कीलाई तेह्रथुममा कालो झण्डा

पहिचान पक्षधरले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई कालोझण्डा देखाएका छन् । तेह्रथुमको कार्यक्रममा सहभागी हुन जाँदा बुधबार जिरी बजारमा भेला भएका पहिचानवादीले कालोझण्डा देखाएका हुन् ।

कार्की प्रदेशको नाम कोशी राख्न लविङ गर्ने मध्येका एक हुन् । यसअघि, पनि उनी मुख्यमन्त्री छँदा ओखलढुंगामा कालोझण्डा देखाइएको थियो । पूर्वमुख्यमन्त्री केदार कार्की सवार गाडीमा झापाको दमकमा ढुंगामुढा भएको थियो ।

मुख्यमन्त्री कार्कीको सचिवालयले पहिचान पक्षधरले अवरोध नगर्ने सहमति भएरै मुख्यमन्त्री तेह्रथुमतर्फ गएको जनाएको छ । कोशीको साटो पहिचानमा आधारित नाम राखिनुपर्छ भन्ने मागसहित प्रदेश नं. १ पुनः नामकरण समिति आन्दोलनमा छ ।

यसअघि केदार कार्की नेतृत्वको सरकारले वार्ता गरी नामकरणमा उठेको समस्या समाधानका लागि पहल गर्ने सहमति गरेको थियो । पहिचान पक्षधरले सांसद मन्त्रीहरूको जिल्ला भ्रमणमा अवरोध नगर्ने जनाएका थिए ।

कालोझण्डा देखाउने क्रममा प्रहरीसँग सामान्य घम्साघम्सी भएको जिल्ला प्रहरी कार्यलय तेह्रथुमले जनाएको छ । प्रदेशसभाबाट दुई तिहाइभन्दा बढी बहुमतले कोशी नाम पारित भएसँगै पहिचानका पक्षधरले त्यसलाइ अस्वीकार गर्दै आएका छन् ।

विरोधमा विराटनगरमा प्रदर्शन गर्ने क्रममा यसअघि लाजेहाङ लिम्बूको मृत्यु भएको थियो । उनलाई सरकारले सहिद घोषणा गरेको छ ।

यसैबीच, तेह्रथुममा बुधबार भएको कार्यक्रममा मुख्यमन्त्री कार्कीले कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले तीनै तहका संरचनाका कर्मचारीले सहकार्य, सहस्तित्व र समन्वयमा काम गर्नुपर्ने बताए । सबै कर्मचारी जिम्मेवार नागरिक भएकाले सोही अनुरूप नागरिक सेवामा लाग्न उनले कर्मचारीहरूलाई निर्देशन दिए ।

मुख्यमन्त्री कार्कीले पहाडमा बसाईसराईको समस्या बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै बसाईसराई रोक्ने गरी काम गर्नुपर्ने अवस्था आएको बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार