देउवालाई विश्वासको मत दिने २२ सांसदलाई एमालेले सोध्यो यस्तो स्पष्टीकरण
विश्वासको मतबारे मौन, विपक्षी गठबन्धनमा सहभागिताबारे प्रश्न
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने पार्टीका २२ जना सांसदलाई स्पष्टीकरण सोधेका छन् ।
अध्यक्ष ओलीले साउन ५ गतेको मिति राखेर वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जनालाई स्पष्टीकरण पत्र पठाएका हुन् । तर स्पष्टीकरण पत्रमा उनले विश्वासको मतबारे नसोधेर पार्टीविरुद्ध भेला तथा गुटगत गतिविधि गरेको र पार्टी निर्णय विपरीत विपक्षी गठबन्धनमा सामेल भई अपराधपूर्ण काम गरेको आरोप लगाएका छन् ।
‘पार्टीप्रतिको निष्ठा र विश्वास नरहने गरी भ्रम फैलाई स्वयं पार्टी प्रतिको निष्ठा र विश्वासबाट च्युत भएको, पार्टीको प्रतिष्ठा र मर्यादामा आँच आउने गरी निरन्तर विभिन्न क्रियाकलाप सञ्चालन गरेरगराएको, पार्टी कमिटीको गोपनियता भंग गरेरगराएको, विपक्षीसँग साठगाँठ गरेरगराएको, केन्द्रीय जनप्रतिनिधि संस्था तथा पार्टीको जिम्मेवारीमा रहँदा पार्टी निर्णय र निर्देशनविपरीत विभिन्न कार्य निरन्तर गरिरहेकाले किन कार्वाही नगर्ने,’ स्पष्टीकरण पत्रको बेहोरामा भनिएको छ ।
पत्रमा २४ घण्टाभित्र स्पष्टीकरण चित्तबुझ्दो नदिएमा साधारण सदस्यलगायत पार्टीको जिम्मेवारीबाट निष्कासन किन नगर्ने ? भनी प्रश्न सोधिएको छ ।