नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ सांसदलाई स्पष्टीकरण सोधेर एकतामा भाँजो हाल्ने काम गरेको निष्कर्ष निकालेको छ ।
बानेश्वरमा बसेको माधव पक्षीय स्थायी कमिटीको बैठकको निर्णय सुनाउँदै नेता रघुजी पन्तले स्पष्टीकरण सोध्नुपर्ने विषय नै नभएकाले एकतामा भाँजो हाल्ने काम भएको र सो काम बन्द गर्न भनेका छन् ।
‘स्पष्टीकरण सोध्नुपर्ने विषय नै होइन । एकता वार्ता चलिरहेको छ । उहाँहरूले १० बुँदे प्रस्तावलाई केन्द्रीय कमिटिमा स्वीकार गरिसकेको भन्नुभएको अवस्थामा फेरि स्पष्टिकरण सोध्नु भनेको एकता प्रक्रियामा भाँझो हाल्ने काम हो,’ पन्तले भने, ‘र कुनै प्रकारको उत्तेजक काम कारबाहीले एकतालाई असर पुर्याउने नराम्रो प्रभाव कतै पनि पार्न नहुने हाम्रो मान्यता हो ।’
संविधानले सासंदलाई दिएको अधिकारका विषयमा पार्टीले स्पष्टीकरण सोध्न नमिल्ने उनको भनाई छ । अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई हिजोको मिति आज स्पष्टीकरण पत्र पठाएका छन् ।
साथै बैठकले नेताविरुद्धका उत्तेजक नाराबाजी रोकेर पार्टी एकताका काममा लाग्न अध्यक्ष केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको छ ।