नेपाली कांग्रेसका युवा नेता गगन थापाले राज्यकोषबाट रकम लिएर विदेशमा नेताको उपचार गरिनु गैरकानुनी भएको बताएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले दिल्लीमा उपचाररत एमाले नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचारमा लाग्ने खर्च सरकारले बेहोर्ने बताएपछि थापाले सो कुरामा असन्तुष्टि व्यक्त गर्दै यस्तो बताएका हुन् । उनले सामाजिक सञ्जालमा अघिल्लो सरकारले कानूनविपरीत गरेको निर्णयको भारी यो सरकारले बोक्नु नहुने उल्लेख गरेका छन् । पूर्वस्वास्थ्य मन्त्री समेत रहेका थापाले कानुनअनुसार खनालको उपचार खर्च सरकारले ब्यहोर्न नमिल्ने बताएका हुन् ।
‘२०७४ सालमा बनेको जनस्वास्थ्य ऐनमा गरिएको संशोधनमा “प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नु परेमा सो को लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइने छैन”, उक्त कानून २०७५ असोज २ गतेदेखि लागू भइसकेको उल्लेख गर्दै थापाले भनेका छन्, ‘यो कानून कार्यान्वयनमा आइसकेको अहिलेको अवस्थामा नेपालको बहालवाला राष्ट्रपति, प्रधानमन्त्रीदेखि अन्य कसैको पनि विदेशमा भएको उपचारको खर्च नेपाल सरकारले व्यहोर्न पाउँदैन। कानूनको यो व्यवस्थाको सम्बन्धमा सम्माननीय प्रधानमन्त्री प्रष्ट हुनुहुन्छ भन्ने मलाई विश्वास छ ।’
थापाले खनालले पछिल्लो पटक निजी नाफा घाटाको हिसाब नगरी संविधान र लोकतन्त्रको पक्षमा आफूलाई उभ्याएको भन्दै उनीसँग संसदमा सँगै काम गर्न आफूहरु प्रतिक्षारत रहेको बताएका छन् ।