दोस्रो चरणको कोरोना कहरमा ३४८ घरेलु हिंसाका उजुरी दर्ता

कोभिड–१९ दोस्रो चरणको सङ्क्रमण नियन्त्रणको लागि गरिएको निषेधाज्ञाको अवधिमा ३४८ घरेलु हिंसाघटनाका उजुरी दर्ता भएका छन् । राष्ट्रिय महिला आयोगले मंगलबार आयोजना गरेको बढ्दो लैङ्गिक हिंसा नियन्त्रण र रोकथामका लागि आयोगबाट भइरहेका पहल र आगामी दिनमा चाल्नुपर्ने कदमको विषयमा पत्रकारसँग गरिएको अन्तक्रियामा उक्त जानकारी गराएको हो ।

आयोगका सचिव मनोज कुमार आचार्यले प्रस्तुत गरेको तथ्याङ्कअनुसार दर्ता भएका उजुरीमा सबैभन्दा धेरै बागमती प्रदेशमा २४३ वटा घरेलु तथा महिला हिंसाका घटना रहेको छ । त्यैसैगरी प्रदेश–२ मा २४, प्रदेश–१ मा १४, लुम्बीनी २१, गण्डकी १६, सुदूरपश्चिम १२, कर्णालीमा ६ र प्रदेश नखुलेका घटना १२ वटा दर्ता भएको जानकारी गराइएको छ । यस दर्ता भएका घटनामा सबैभन्दा धेरै मानसिक यातनाका ३३१, कुटपिटका २०५, आर्थिक आतना १७३, चरित्र हत्या ६७, विवाह दर्तासम्बन्धी समस्या ३३, सुरक्षा मुद्दा २१, सम्पत्ती हस्तान्तरण १५, यौन दुर्व्यवहार १५, बलात्कार ११ जन्मदर्तासम्बन्धी समस्या २० नागरिकता बनाउन आवश्यक कागजात १४ रहेको छ ।

गत वैशाखदेखि यहीअसार मसान्तसम्मा एक हजार ३६८ जनाले आयोगबाट विभिन्न किसिमका सेवा लिएका छन् । जसमा सबैभन्दा बढी २८० ले कानूनी परामर्श सेवा लिएका छन् भने मनोसामाजिक मनोविमर्श सेवा १०१ र ६९६ ले फोनबाट जानकारी लिने काम गरेका छन् ।

पीडकलाई तत्कालै कानूनी दायरामा ल्याउनु, ग्रामीण क्षेत्रका हिंसामा परेका लागि उजुरी गर्ने स्थानसम्म ल्याउनु, सामाजिक सञ्जालको प्रयोग गरी महिला हिंसा गर्नेविरुद्ध प्रभावकारी काम गर्न नसक्नु र अपाङ्गता भएका महिला र विशेष गरी वैद्धिक अपाङ्गता भएका महिलाको लागि सुरक्षित आश्रयस्थल उपलब्ध गराउनु आयोगका लागि चुनौती भएको सचिव आचार्यको भनाइ छ ।

आयोगको अध्यक्ष कमलाकुमारी पराजुलीले हिंसाका बारेमा खबर गर्ने नम्बर ११४५ र समग्र आयोगका बारेमा गाँउगाँउसम्म जानकारी दिन नसक्दा सबै घटना कानूनी प्रक्रियामा आउन नसकेका कारण पीडितले न्याय पाउन समस्या भएको बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार