जनता समाजवादी पार्टी नेपालको उपेन्द्र यादव पक्षले महन्थ ठाकुरले जनतामा माफी नमागेसम्म एकता नहुने निष्कर्ष निकालेको छ ।
यादव पक्षको मंगलबार बसेको संसदीय दलको बैठकले ठाकुर पक्षले जनतासँग माफी मागे मात्रै एकता सम्भव हुने निष्कर्ष निकालेको हो ।
ठाकुर पक्षको मंगलबार नै बसेको कार्यकारिणी समितिको बैठकले पार्टीको आधिकारिकताका लागि यादवले निर्वाचन आयोगमा दिएको निवेदन फिर्ता लिए एकताका लागि पहल गर्न सकिने निर्णय गरेको सन्दर्भमा आफूहरुको बैठकले ठाकुरले जनतासँग माफी मागेमात्रै एकता सम्भव हुने निष्कर्ष निकालेको सांसद प्रदीप यादवले जानकारी दिए ।
‘आयोगमा दिएको निवेदन फिर्ता लिन उपेन्द्र यादवलाई प्रस्ताव आएको छ । आजको संसदीय दलमा त्यो विषयमा एजेण्डा नभएपनि समान्य छलफल भएको छ’, यादवले भने, ‘प्रस्ताव ठिक वा बेठीक भन्दा पनि महन्थ ठाकुर पक्षले सार्वजनिक रुपमा जनतासँग माफी नमागेसम्म पुनः एकताका लागि प्रयास गर्नु हुँदैन भनि निष्कर्ष निकालिएको हो ।’
पुस ५ मा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि जसपा आन्दोलित भएको थियो । जसको चर्को विरोध महन्थ ठाकुर र राजेन्द्र महतोले गरेका थिए ।
दोस्रो पटक विघटन गर्दा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिएपछि पार्टीमा तीव्र अन्तरविरोध सुरु भएको थियो । सोही अन्तरविरोधले पार्टी विभाजित हुँदै आधिकारिकताका लागि निर्वाचन आयोगसम्म पुगेका छन् । यसैबीच यादव पक्षको संसदीय दलले विधान पारित गरेको छ ।
सो विधानलाई कार्यकारिणी समितिबाट पारित गरी पुनः संसदीय दलमा ल्याएर दलको नेता चयन गर्ने प्रक्रिया सुरु गरिने यादव पक्षीय नेताहरूले बताएका छन् । आजको छलफल संसदीय दलको विधानमा मात्रै केन्द्रित रहेको बताउँदै जसपा नेताहरूले नयाँ सरकारलाई पार्टीको समर्थन रहेको बताउँदै ढिलोचाँडो सरकारमा सहभागी हुने बताएका छन् ।