बोर्डको अध्यक्षमा दुई जनालाई मात्रै सिफारिस गर्न नमिल्ने महान्यायाधिवक्ताको राय

नेपाल धितोपत्र बोर्डको अध्यक्षमा अन्तर्वार्तामा उपस्थित दुई जनालाई मात्रै सिफारिस गर्न नमिल्ने राय महान्यायाधिवक्ताको कार्यालयले दिएको छ।

अध्यक्ष नियुक्तिका लागि अर्थ मन्त्रालयले गठन गरेको सिफारिस समितिको मागअनुसार धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति सम्बन्धमा उक्त राय दिएको हो ।

समितिले असार २ र ५ गते छनोटमा परेका ५ जनालाई अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीकरणमा बोलाएको थियो । तर उनीहरुमध्ये दुई जना मात्रै उपस्थित भए भने तीन जना अनुपस्थित रहेका थिए ।

कार्यालयले या त पहिलो चरणमा छानिएका पाँचमध्ये तीन जनाको नाम सरकारलाई सिफारिस गर्नुपर्ने नभए पुनः नयाँ प्रक्रिया सुरू गर्नुपर्ने सल्लाह दिएको स्रोतले बतायो ।

धितोपत्र ऐन अनुसार छनोट समितिले बोर्डको अध्यक्षको नियुक्तिको लागि सरकारलाई कम्तीमा तीन जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था छ ।

अन्तर्वार्ताको प्रक्रियामा सहभागी नभएका व्यक्तिको नाम कसरी सिफारिस गर्ने भन्ने दुविधामा समेत समिति छ । यसको लागि समितिले महान्यायाधिवक्ताको कार्यालयसँग परामर्श गर्ने भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार