साइबर सुरक्षासम्बन्धी विधेयक बन्दै छ : मन्त्री शर्मा 

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सुशासन र विद्युतीय शासन प्रवर्द्धन एवं सदाचारको परिपालनामा सरकार प्रतिबद्ध रहेको बताएकी छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा विनियोजित बजेटअन्तर्गत सञ्चार मन्त्रालयको शीर्षकप्रति सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले सो बताएकी हुन् ।

सरकारको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा समावेश भएका मन्त्रालयसम्बद्ध विषयहरूको कार्यान्वयन र तोकिएका सूचकहरूको लक्ष्य प्राप्तिको लागि एकीकृत कार्ययोजना तयार गरी कार्यान्वयनमा ल्याउने उनले बताइन् ।

प्रेस काउन्सिल नेपालको पुनर्संरचना गर्नेगरी मिडिया काउन्सिल विधयेक र सार्वजनिक सेवा प्रसारण विधेयक संसद्‌मा छलफलको क्रममा रहेको भन्दै उनले राष्ट्रिय आमसञ्चार विधेयक तर्जुमाको अन्तिम चरणमा रहेको जानकारी दिइन् ।

सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्दै लैजान विधेयक तर्जुमाको अन्तिम चरणमा रहेको उनले बताइन् । मन्त्री शर्माले नेपाललाई सूचना प्रविधिको हवको रूपमा विकास गर्ने र आगामी दशकलाई सूचना प्रविधि दशकको रूपमा अगाडि बढाउन आगामी आर्थिक वर्षलाई प्रारम्भ वर्षको रूपमा लिई काम गर्ने बताइन् ।

सूचना प्रविधि क्षेत्रमा आगामी १० वर्षमा ३० खर्बको निर्यात र १० लाखको रोजगारी सिर्जना हुनेमा विश्वस्त रहेको उनले बताइन् । उनले सार्वजनिक सेवा प्रवाहलाई छिटो, सरल, सहज र पारदर्शी बनाइ प्रभावकारी सेवा प्रवाहको लागि एकीकृत कार्यालय व्यवस्थापन प्रणालीमा सबै संघीय मन्त्रालय र लुम्बिनी प्रदेशका सबै मन्त्रालयहरू आबद्ध भएको उल्लेख गरिन् ।

साइबर आक्रमणको पहिचान, रोकथाम र प्रतिकार्य गर्दै उत्थानशील साइबर स्पेश तयार गर्ने उद्देश्यका साथ राष्ट्रिय साइबर सुरक्षा केन्द्रको स्थापना गरिएको उनले बताइन् । मन्त्री शर्माले साइबर सुरक्षासम्बन्धी विधेयक तर्जुमा भइरहेको जानकारी दिइन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार