माओवादीको कारबाहीविरुद्ध फणीन्द्र देवकोटा सर्वोच्चमा, आइतबार पेसी

नेपाल समाजवादी पार्टीका नेता एवं गण्डकी प्रदेश सभाका सदस्य फणीन्द्र देवकोटा आफूमाथि भएको कारबाहीविरुद्ध सर्वोच्चमा पुगेका छन् ।

आफूमाथि माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलले गरेको कारबाही गैरकानुनी भएको भन्दै देवकोटाले बिहीबार सर्वोच्च अदालतमा रीट दायर गरेका हुन् ।

सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द घिमिरेले देवकोटाको रिट दर्ता भएको र पेसी आइतबार तोकिएको जानकारी दिए ।

२८ जेठमा माओवादी संसदीय दलको निर्णयविरुद्ध देवकोटाले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका थिए । त्यसपछि माओजवादी केन्द्रले उनलाई ह्वीप उल्लंघन गरेको भन्दै कारबाही गरेको थियो । माओवादीको कारबाही गर्ने निर्णय ३२ जेठमा सभामुख कृष्णप्रसाद धितालले प्रदेशसभा बैठकमा पढेर सुनाएपछि देवकोटा पदमुक्त भएका थिए ।

देवकोटा पाण्डे नेतृत्वको सरकारमा उर्जा मन्त्री समेत बनेका छन् । सांसद नभए पनि उनी ६ महिनासम्म मन्त्री भने हुन पाउँछन् ।

देवकोटा गत प्रदेश सभा निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर गोरखा २ (१) बाट निर्वाचित भएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार