सहकारी पीडितको ७७ करोड २४ लाख बचत फिर्ता गरिसक्यौँ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्‍डले सरकारले ७७ करोड २४ लाख ४६ हजार ४५८ रुपैयाँ बचत रकम सहकारी पीडितलाई फिर्ता भुक्तानी गरिसकिएको बताएका छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोउत्तर कार्यक्रममा नेपाली कांग्रेसका सांसद जीवन परियारले गरेको प्रश्नको जवाफमा प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।

उनले सहकारी संस्थाका बचतकर्ताहरूबाट ५९ हजार ५८७ मागदाबी निवेदन परेको र तीन वटा समस्याग्रस्त सहकारीको रकम फिर्ता गरिएको हो ।

‘हालसम्म २० सहकारीलाई समस्याग्रस्त सहकारी घोषणा गरी समस्याग्रस्त सहकारी व्यवस्थापन समिति मार्फत बचत फिर्ताको प्रक्रिया अगाडि बढाइएको छ । समस्याग्रस्त घोषणा भएका सबै सहकारी संस्थाका वचतकर्ताहरूबाट ५९ हजार ५ सय ८७ माग दाबी निवेदनका आधारमा ३६ अर्ब २८ करोड ९२ लाख ८१ हजार ७८०को दायित्व एकिन भएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यसमध्ये हालसम्म ७७ करोड २४ लाख ४६ हजार ४५८ बचत रकम पीडितलाई फिर्ता भुक्तानी गरिसकिएको छ । यसबीचमा तीन समस्याग्रस्त सहकारीको सम्पति व्यवस्थापन तथा दायित्व भुक्तानी गरी बचत भुक्तानी गर्ने कार्य सम्पन्न भएको छ ।’

उनले नेपाल राष्ट्र बैंक समेतको संलग्नतामा सहकारी बैंक लगायत ठूला कारोबार गर्ने ९ संस्थाको अनुगमन कार्यसम्पन्न भई वित्तीय अवस्था मजबुत पारी सुशासन र प्रभावकारी सञ्चालनको लागि निर्देशन दिएको बताए ।

उनले छुट्टै नियामक निकाय स्थापना गर्ने,सहकारी कर्जा सुरक्षण कोष स्थापना गर्ने छुट्टै कानूनी प्रक्रिया अगाडि बढाइएको उल्लेख गरे ।

सहकारी नीतिको परिमार्जित मस्यौदा तयार भएको छ भने सहकारी ऐनमा समेत संशोधनको तयारी गरेको उनले जानकारी गराए । ‘ठूलो कारोबार गर्ने सहकारीहरूलाई नियमन र सुपरीवेक्षण गर्न प्राधिकरण गठनका लागि कानूनको मस्यौदा भइरहेको छ । सहकारी नीतिको परिमार्जित मस्यौदा तयार भएको छ भने सहकारी ऐनमा समेत संशोधनको तयारी भइरहेको छ । सहकारी समस्या समाधानको लागि लिएका पहलबाट सरकार गम्भिर छ,’ उनले भने ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार