लुम्बिनी प्रदेशसम्म पुग्यो मनसुन

मनसुनी वायु लुम्बिनी प्रदेशसम्म विस्तार भएको छ ।

गत जेठ २८ गते कोशी प्रदेशबाट नेपाल प्रवेश गरेको मनसुन बिहीबार लुम्बिनी प्रदेशको पूर्वी भागसम्म विस्तारित भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

‘यस वर्षको मनसुन प्रणाली बिहीबार कोशी प्रदेशको बाँकी भू–भाग, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका अधिकांश भू–भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू–भागमा आगमन भएको छ,’ महाशाखाले विशेष बुलेटिन जारी गरेर बताएको छ ।

यस वर्षको मनसुन सरदर मिति (जुन १३ तारिख) भन्दा ३ दिन छिटो अर्थात् (जुन १० तारिख) मा कोशी प्रदेशमा भित्रिएको थियो । तर पश्चिमी वायुको प्रभावका कारण पश्चिमतर्फ सर्न ढिलाइ भएको थियो ।

आज लुम्बिनी प्रदेशको पूर्वी भूभागसम्म फैलिएको मनसुन कर्णाली र सुदूरपश्चिमसम्म फैलिन भने अझै केही दिन लाग्नसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गत वर्ष पश्चिम नेपालसम्म मनसुनी प्रणाली फैलिन दुई हप्ता लागेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार