रास्वपाका मन्त्रीहरूले खल्तीमा राजीनामा पत्र बोकेर हिँडेकोबारे के भन्छन् रवि लामिछाने ?

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले रास्वपाबाट मन्त्री बनेकाहरुले राजीनामा खल्तीमा बोकेर हिँडेको छौं भन्दैमा वर्तमान सत्ता समीकरणमा कुनैपनि अप्ठ्यारो नपर्ने प्रष्ट पारेका छन् ।

बिहीबार चितवन पुगेका रास्वपाका सभापतिसमेत रहेका लामिछानेले खल्तीमा राजीनामा बोकेर हिँड्नु रास्वपाको मूल स्वभावको निरन्तरता भएको बताएका छन् । ‘त्यसको मोटिभ हामीले राम्रो काम गर्न सकेनौं भने वा काम गर्न पाइएन, सकिएन भने टाँसिइरहेर बसेर हुँदैन भनेर सुरूवातदेखि नै भनिरहेका छौं । यो रास्वपाको मूल स्वभावको निरन्तरता हो,’ उनले भने ।

लामिछानेले आफ्ना पार्टीका मन्त्रीहरूलाई केही गर्न पाए हुन्थ्यो भन्ने हुटहुटी रहेको र राजीनामा पत्र त्यो हुटहुटीको प्रतिबिम्ब रहेको पनि बताए । ‘अभिव्यक्ति गर्ने तरिका हो । हामी आफैँलाई पनि अझै केही गर्न पाए हुन्थ्यो भन्ने र हुटहुटीको प्रतिबिम्ब मात्रै हो,’ उनले भने ।

फरक प्रसंगमा लामिछानेले प्रहरी महानिरिक्षक (आईजीपी) फेर्नेबारे कुनैपनि काम नभएको प्रष्टीकरण दिएका छन् । उनले आईजीपी फेरिने हल्लामात्र भएको र आईजीपी फर्नेबारेको समाचारमा कुनैपनि सत्यता नरहेको जिकिर गरे ।

‘चर्चा कसैले चलाइदियो, बुझ्नेले कसरी बुझ्नुभयो, तपाईंको प्रश्न कुन ढंगमा आयो। आइजिपी फेर्ने कुरा मैले कहाँ भनेँ, तपाईंले कहाँ सुन्नुभयो ? कुनै ठाउँमा कुनै पत्रिकाले लेखिदियो होला ? अर्काले बनाइदिएको हेडलाइन बोकेर तपाईंहरूजस्ता मूर्धन्य, इतिहास बोकेका पत्रकार हिँड्नु हुँदैन । त्यस्तो चर्चा कहाँ चल्या छ र भन्या ? बजारमा कहीँ कतै, बिजोग डटकम, कन्तबिजोग डटकम, महाबिजोग डटकमले लेखेको कुराको जवाफ गृहमन्त्रीले दिएर हिँड्छ त ?,’ उनले भने ।

केही दिनअघि गृहमन्त्री लामिछानेले आईजीपी वसन्त कुबँरलाई हटाएर श्यामलाल ज्ञवालीलाई आईजीपी बनाउन लागेको कुरा बाहिर आएको थियो । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि यसबारेमा कुनै पनि सत्यता नरहेको बताएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार